इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले कर्मचारीलाई कार्यालय समयमा अनुशासन कायम गर्न कडा निर्देशन दिएका छन् । बिहीबार सम्पन्न मासिक बैठकमा अध्यक्ष आजादले पालिका भित्रका कर्मचारीहरूले तोकिएको समयअनुसार कार्यालय उपस्थित हुनुपर्ने, सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनुपर्ने तथा विदाको अनावश्यक दुरुपयोग गर्न नहुने कुरामा जोड दिएका छन् ।
बैठकमा अध्यक्ष आजादले कर्मचारीहरूको उपस्थितिलाई प्रभावकारी बनाउन नियमित अनुगमन गरिने जानकारी दिए । उनका अनुसार कतिपय कर्मचारीहरूले बिना कुनै ठोस कारण अनाधिकृत रूपमा कार्यालय नआउने, ढिला आउने तथा समयमै जिम्मेवारी बहन नगर्ने गरेका गुनासो आएका छन् । “पालिका भनेको जनताको सेवा दिने ठाउँ हो, यहाँको सेवा प्रणाली पारदर्शी, प्रभावकारी र व्यवस्थित हुनुपर्छ,” उनले भने, “सबै कर्मचारीले कार्यसम्पादनमा इमानदारिता देखाउनुपर्छ ।”
कार्यालय पोशाकमा अनिवार्य उपस्थितिको निर्देशन
पालिकाका अध्यक्ष आजादले कार्यालय समयमा कर्मचारीहरू अनिवार्यरूपमा तोकिएको पोशाकमा उपस्थित हुनुपर्ने निर्देशन दिएका छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको ड्रेस कोडमा कार्यालयमा बस्नुपर्ने प्रावधान पालिकाले लागू गरिसकेको भए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै सुधार आवश्यक रहेको उनले बताए । “कर्मचारीको पहिरनले पनि सेवाग्राहीमा सकारात्मक प्रभाव पार्छ,” उनले भने, “त्यसैले तोकिएको पोशाकमा उपस्थित हुन आग्रह गर्दछु ।”
विदाको अनावश्यक दुरुपयोग नगर्न चेतावनी
बैठकमा पालिकाभित्रका केही कर्मचारीहरूले बिदाको अनावश्यक प्रयोग गरी सेवाग्राहीलाई असर पुर्याएको विषयमा अध्यक्ष आजादले कडा चेतावनी दिएका छन् । उनले कर्मचारीहरूलाई व्यक्तिगत स्वार्थका लागि विदा नलिइ, आवश्यक परे मात्र लिने व्यवस्था गर्न निर्देशन दिए । “विदाको नाममा कर्मचारी कार्यालयबाट गायब हुने प्रवृत्ति अब सह्य हुने छैन,” उनले भने, “विदाको उचित व्यवस्थापनका लागि थप कडाइ गरिनेछ ।”
पालिकाले कर्मचारीहरूको हाजिरी प्रणालीलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने तयारी समेत गरिरहेको जानकारी गराइएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा कर्मचारीहरूको उपस्थिति तथा सेवाप्रवाहलाई नियमित अनुगमन गर्न विशेष समिति गठन गरिने निर्णय बैठकमा गरिएको छ ।
सेवाग्राहीमुखी सेवा प्रवाहको आवश्यकता
बैठकमा अध्यक्ष आजादले नागरिकहरूलाई सहज र छिटो सेवा उपलब्ध गराउने गरी पालिका प्रशासनलाई सशक्त बनाउनुपर्ने बताए । उनले सबै कर्मचारीलाई सेवाग्राहीहरूसँग सकारात्मक व्यवहार गर्न, मुस्कानसहित सेवा दिन र काम समयमा नै सम्पन्न गर्न विशेष ध्यान दिन आग्रह गरे । “सेवाग्राहीहरू घण्टौं कुर्नुपर्ने स्थिति आउनुहुँदैन,” उनले भने, “हामीले जनतासँग सरोकार राख्ने काम गर्छौं, त्यसैले उनीहरूलाई सन्तुष्ट पार्नुपर्ने दायित्व हामी सबैको हो ।”
बैठकमा पालिका उपाध्यक्ष सुनिता कुमारी उराँव , वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । पालिकाले सेवाग्राहीहरूको गुनासो सम्बोधन गर्न ‘गुनासो सुन्ने कक्ष’ स्थापना गर्ने तयारी समेत गरेको छ ।










Discussion about this post