झापा— महाभारतकालीन विराट राजाका सालो किच्चकको दरबार रहेको विश्वास गरिने झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागले आठौँ चरणको उत्खनन सम्पन्न गरेको छ।
पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा आएको चार सदस्यीय टोलीले फागुन २५ गतेदेखि निरन्तर उत्खनन तथा संरक्षणको कार्य गरिरहेको थियो। उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो दरबारको जग र केही प्राचीन सामग्रीहरू फेला परेका छन्। आचार्यका अनुसार फेला परेका इँटाहरू विगतमा उत्खनन गर्दा भेटिएका इँटासँग मिल्दोजुल्दो छन्।
विभागका अधिकृत नवराज अधिकारीका अनुसार किच्चकबधस्थलमा विसं २०५८ देखि पुरातत्व विभागले उत्खनन गरिरहेको छ। विगतमा यहाँ २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल, कम्पाउन्डसहितको भौतिक संरचना तथा मानिसले प्रयोग गर्ने भाला, बाण, माटाका भाँडावर्तनहरू फेला परेका थिए। ती वस्तुहरूको पुरातत्व विभागले संरक्षण गर्दै आएको छ।
प्राचीन संरचनामा जोखिम
झन्डै १० बिघा क्षेत्रफलमा फैलिएको किच्चकबधस्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य संरचना बनाइँदा पुरातात्विक वस्तुहरू नष्ट हुने खतरा बढेको छ। विभागले नयाँ संरचना जथाभावी नबनाउन आग्रह गरेको छ। विगतमा खेतीपाती गर्दा समेत पुरातात्विक महत्वका वस्तुहरू नष्ट भएको अनुमान गरिएको छ।
गत वर्ष विभागले एक मन्दिर हटाउन लगाएको थियो, जसको मुनि यसपटक दरबारको जग भेटिएको हो। उत्खनन अझै केही दिन जारी रहने जानकारी विभागका अधिकृत अधिकारीले दिएका छन्।
२२ सय वर्ष पुरानो प्रमाणित
पुरातत्वविद् आचार्यका अनुसार किच्चकबधस्थलमा फेला परेका वस्तुहरूको बेलायतमा कार्बन परीक्षण गर्दा ती २२ सय वर्ष पुराना भएको पुष्टि भएको छ। “हामीले भेटाएका संरचनाहरू ऐतिहासिक महत्त्व बोकेका छन्,” उहाँले भन्नुभयो, “दरबारसँग सम्बन्धित सानो कम्पाउन्ड, सुरक्षा पोस्ट तथा हात्ती-घोडाका सामानहरू पनि फेला परेका छन्।”
किच्चकबध स्थलको ऐतिहासिक महत्व
किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटका सालो किच्चकको दरबार यहीँ रहेको थियो। पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि किच्चकले कुदृष्टि राखेपछि भीमसेनले विराटनगरदेखि लखेटेर यही दरबारमा किच्चकको बध गरेका थिए। त्यसैले यो स्थानलाई ‘किच्चकबध स्थल’ भनिन्छ।
संरक्षणमा बजेट अभाव
सरकारले किच्चकबधस्थलको उत्खनन तथा संरक्षणका लागि यस वर्ष रु १० लाख बजेट छुट्याएको छ। “पर्याप्त बजेट भए एकै वर्षमा धेरै काम गर्न सकिन्थ्यो,” अधिकृत अधिकारीले बताउनुभयो, “सीमित स्रोत भए पनि दैनिक १३ जनासम्म कामदार लगाएर संरक्षणको काम गरिरहेका छौँ।”
स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले यो स्थल ऐतिहासिक धरोहर भएकाले यसको उचित प्रचारप्रसार गर्न सके पर्यटक भित्र्याउने ठूलो सम्भावना रहेको बताउनुभयो।










Discussion about this post