बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा पहलमा निरन्तर सञ्चालन हुँदै आएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रहरी प्रमुख र प्रदेशभरका प्रहरी कर्मचारीबीच प्रत्यक्ष टेलिफोन संवाद सम्पन्न भएको छ।
चैत्र २६ गते सम्पन्न सो कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीसँग विभिन्न जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरूले टेलिफोनमार्फत प्रत्यक्ष संवाद गर्दै व्यक्तिगत समस्या, पिरमर्का, सेवा-सुविधा तथा व्यवस्थापनसम्बन्धी गुनासोहरू राखेका थिए।
भौगोलिक हिसाबले सुगमदेखि अत्यन्त दुर्गम क्षेत्रसम्म फैलिएको कोशी प्रदेशका नौवटै जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरूको समस्यामा समयमै सम्बोधन होस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। दुर्गम क्षेत्रका प्रहरी कर्मचारीहरूको आवाज सिधै प्रहरी प्रमुखसम्म पुर्याउन र सेवा भावनामा उत्साह थप्न यो कार्यक्रम फलदायी सावित भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले सरुवा, प्रवर्द्धन, सेवा सुविधाको अभाव, भौतिक पूर्वाधार, मनोबल अभिवृद्धि, सुरक्षामा देखिएको चुनौती जस्ता विषयमा धारणा राखेका थिए। कतिपयले पारिवारिक अवस्था, मानसिक तनाव, चिकित्सकीय सुविधा लगायतका विषयसमेत उठाएका थिए।
प्रहरी प्रमुख अधिकारीले सबै गुनासोहरू ध्यानपूर्वक सुनेर समाधानका उपायहरू सुझाउनुका साथै तत्काल सम्बोधन गर्न सकिने समस्याहरूमा सम्बन्धित विभागमार्फत आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाए।
उनले भने, “संगठनभित्रका सदस्यहरूका समस्या बुझी समयमै सम्बोधन गर्नु नेतृत्वको कर्तव्य हो। कर्मचारीको मनोबल उच्च राख्न यस्तो प्रत्यक्ष संवाद महत्वपूर्ण हुन्छ।”
कार्यक्रमले प्रहरी कर्मचारीलाई आफ्नो समस्या बिना झमेला सिधा प्रमुखसम्म राख्न सकिने वातावरण बनाएको बताइन्छ। यसले संगठनभित्र पारदर्शिता, उत्तरदायित्व र आत्मीयता बढाउने कार्यमा समेत योगदान पुगेको प्रहरी कार्यालयको दाबी छ।
प्रविधिको प्रयोगमार्फत टाढा रहेका कर्मचारीहरूसँग समेत सम्पर्क स्थापित गरी उनीहरूको अभिव्यक्ति सुन्ने प्रयासले कोशी प्रदेश प्रहरीको मानव संसाधन व्यवस्थापन सुदृढ बनाउने विश्वास लिइएको छ।
यस्तो कार्यक्रमको निरन्तरतासँगै कर्मचारीहरूको मनोबल, सेवा भावनामा सुधार र नेतृत्वप्रति विश्वास बढ्ने प्रहरी अधिकारीहरूको भनाइ छ।
यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा डिजिटल संवाद, प्रत्यक्ष भर्चुअल मिटिङ तथा समस्या टिपोटका फरक माध्यमसमेत थप गरिने तयारीमा प्रदेश प्रहरी कार्यालय रहेको जानकारी दिइएको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले यस्तो किसिमको संवादलाई संस्थागत स्वरूप दिई नियमित बनाइनुपर्ने सुझावसमेत दिएका छन्।
प्रहरी प्रमुख अधिकारीको नेतृत्वमा सुरु भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रमले संगठनभित्र ‘सुनुवाइको वातावरण’ सिर्जना गर्न थालेको र यसले सम्पूर्ण कर्मचारीहरूमा एकता, समन्वय र सेवा प्रवाहमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।










Discussion about this post