रन्धिर यादव/इनरुवा — भीडभाड, तातो सिमेन्टका भित्ताभित्र बन्दी बनेर बस्ने झुम्का कारागारमा फेरि एक जनाले ज्यान गुमाएका छन्। बुधबार साँझ सप्तरी, राजविराज नगरपालिका–८ घर भएका ४६ वर्षीय जलेश्वर यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यादवलाई ज्वरो आएको थियो। स्वास्थ्य बिग्रिएपछि बुधबार साँझ ५:३० बजे जिल्ला अस्पताल इनरुवा पुर्याइएको हो। ‘ज्वरोका कारण अस्पताल भर्ना गरिएका यादवको पछि श्वासप्रश्वासमा समस्या बढ्दै गयो, उपचारकै क्रममा उनको मृत्यु भयो,’ जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भने।
जेल प्रशासनका अनुसार जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका यादवलाई बचाउन सकिएन। जेलर राम निरौलाले भने, ‘हामीले तुरुन्तै अस्पताल पुर्याएका थियौं, तर अन्तिम क्षणसम्म पनि उनलाई जोगाउन सकिएन।’
झुम्का कारागारमा अहिले ज्वरोको कहर फैलिएको छ। प्रशासनका अनुसार १३ जना कैदीलाई उच्च ज्वरोका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। कारागारभित्र अझै तीन दर्जनभन्दा बढी बिरामी रहेका छन्। बुधबार मध्यरातसम्म इनरुवा र धरानबाट चिकित्सक टोली झिकेर स्वास्थ्य शिविर सञ्चालन गरिएको जेल प्रशासनले जनाएको छ।
‘बिरामीलाई औषधि दिनुका साथै स्वास्थ्य परीक्षण भइरहेको छ। स्थिति नियन्त्रणमै राख्ने प्रयास भइरहेको छ,’ जेलर निरौलाले भने। तर बिरामीको संख्या बढ्दै गएपछि चिकित्सक टोलीलाई उच्च सतर्कतामा राखिएको छ।
गत सात दिनमै झुम्काले तीन जना कैदी गुमाइसकेको छ। भदौ १५ गते सुनसरी गढी–६ का ५२ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको पनि मृत्यु भइसकेको थियो।
झुम्का कारागारमा हाल ब्लक ‘ए’ र ‘बी’ गरेर १ हजार ७९८ जना कैदी रहेका छन्। क्षमताभन्दा धेरै कैदी राखिएको यो कारागारमा स्वास्थ्य जोखिम बढ्दै गएको स्थानीयवासीहरू बताउँछन् ।










Discussion about this post