इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित ऐतिहासिक काली मन्दिरमा आजदेखि रंगा अर्थात् भैसावली र बोकावली मेला भव्यताका साथ सुरु भएको छ। सयौं वर्षदेखि परम्परागत रूपमा मनाइँदै आएको यो मेला यस वर्ष पनि धार्मिक आस्था, संस्कार र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइँदैछ।
काली मन्दिर मेला समितिका अध्यक्ष सचेन्द्र यादवका अनुसार मेला आजदेखि सुरु भई लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। मेलाको मुख्य आकर्षणमा कुस्ती प्रतियोगिता, सांस्कृतिक तथा नाचगान कार्यक्रमहरू रहेका छन्। यादवले भने, “हाम्रो पुरानो परम्परा जोगाउन र गाउँमा एकता सुदृढ गर्न यो मेलाको विशेष अर्थ रहन्छ।”
यसैबीच, मेला सफल बनाउन स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको छ। मेला आयोजना तथा व्यवस्थापनमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको निरन्तर सहयोग रहेको समितिले जनाएको छ।
त्यसैगरी पालिका अध्यक्ष अजमल अख्तर आजादले काली मन्दिर मेला हिन्दू–मुस्लिम दुवै समुदायबीच धार्मिक सद्भाव र सहअस्तित्वको प्रतीक भएको बताए। उनका अनुसार, “हाम्रो गाउँ बहुजातीय, बहुधार्मिक एकताको नमुना हो। काली मन्दिरको मेला केवल धार्मिक मात्र होइन, सांस्कृतिक र सामाजिक एकताको पर्व हो। हामी सबै समुदाय मिलेर यसलाई संरक्षण गर्दै आएका छौँ।”
अध्यक्ष आजादले मेलामा पालिकाको तर्फबाट आवश्यक भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराइएको बताउँदै आगामी वर्षहरूमा यो मेलालाई प्रदेशस्तरको सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने योजना रहेको पनि खुलासा गरे।
मेला क्षेत्रमा आजदेखि नै भक्तजन, खेलाडी र दर्शकको भीड देखिएको छ। स्थानीय सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेका छन् भने स्वास्थ्य शिविर र पानी व्यवस्था पनि गरिएको मेला समितिले जनाएको छ।










Discussion about this post