सुनसरी । सिमरामा जेन–जी आन्दोलनकारी र नेकपा (एमाले) कार्यकर्ताबीच उत्पन्न तनाव शान्त दिशातर्फ उन्मुख बन्दै गएको छ। लगातार तीन दिनदेखि चलेको झडप, कफ्र्यु र गिरफ्तारीका बीच आज (शुक्रवार) आन्दोलित पक्षसँग वार्ता बस्ने तय भएको जिल्ला प्रशासनले जनाएको छ।
जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षलाई समेटेर स्थायी समाधानका लागि वार्ता पहल भइरहेको बताए। उनका अनुसार, शुक्रबारको वार्ताबाट “अन्तिम सहमति निस्कने” आशा गरिएको छ। वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतका प्रतिनिधि सहभागी हुँदैछन्। यी सबै नेता बिहीबार साँझकै समयमा सिमरा पुगेका थिए।
यसैबीच, झडपसम्बन्धी जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। पक्राउ पर्नेमा जितपुरसिमरा–२ का ३८ वर्षीय अरविन्द साह, वडा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, र वडा ६ का वडाध्यक्ष कैमद्विन अन्सारी रहेका छन्। ती व्यक्तिलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रजिअ मिश्रले बताए।
संघर्षका क्रममा ६ जना प्रहरी र ४ जना जेन–जी समर्थक युवा घाइते भएका छन्। तनाव चुलिँदै जाँदा प्रशासनले सिमरा क्षेत्रमा पटक–पटक कफ्र्यु आदेश जारी गरेको थियो। तर, परिस्थिति सुधारिएसँगै जेन–जी समूहले शुक्रवारसम्मका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।
हाल सिमराको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किँदै गएको छ। स्थानीय बजार, यातायात र कार्यालयहरू सुचारु हुँदै गएपछि अब सबैको ध्यान आजको वार्ताबाट निस्कने परिणाममा केन्द्रित भएको छ।












Discussion about this post