इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।
स्थानीयका अनुसार केही भू–माफियाको सक्रियता तथा मिलेमतोमा इनरुवा नगरपालिका–५, ६ र ७ क्षेत्रमा पर्ने करिब ४० बिघाभन्दा बढी खेतीयोग्य जग्गालाई आवासीय क्षेत्रमा वर्गीकरण गरिएको छ ।
इनरुवा–५ का पूर्व नगरप्रमुख खेमराज पोखरेलले विगतमा धान, गहुँ लगायतका बाली उत्पादन हुँदै आएको उक्त जग्गालाई आवासीय कायम गरिनु गम्भीर विषय भएको बताउनुभयो । उहाँका अनुसार अहिले ‘ग्रिन सिटी’ नाम दिइएको क्षेत्रमा राम्रो उत्पादन हुने जमिनलाई नै आवासीय बनाइएको हो ।
त्यस्तै इनरुवा–६ का वडा सदस्य उत्तम कार्कीले ‘ग्रिन सिटी’ नाममा सञ्चालन गरिएको कम्पनी रहेको क्षेत्रमा करिब ४० बिघाभन्दा बढी जमिन आवासीय कायम गरिएको जानकारी दिनुभयो । वडाबाट सिफारिस गर्ने प्रक्रियामा आफ्नो कुनै किसिमको सहमति नरहेको उहाँको भनाइ छ ।
पूर्व नगरप्रमुख पोखरेलका अनुसार जिल्लाका अन्य क्षेत्रहरूमा उत्पादन घट्दै गएको अवस्थामा उक्त स्थानमा भने धान र गहुँ राम्रो उत्पादन हुँदै आएको थियो । यस्तो अवस्थामा उत्पादनशील जमिनलाई आवासीय क्षेत्रमा रूपान्तरण गर्नु कृषि क्षेत्रमाथिको आघात भएको उहाँले बताउनुभयो ।
यता, केही जनप्रतिनिधिको असन्तुष्टिका बावजुद नगरपालिकाले गठन गरेको विज्ञ टोलीको सिफारिसका आधारमा नगर कार्यपालिका र नगरसभाबाट उक्त जग्गालाई आवासीय क्षेत्र कायम गर्ने निर्णय गरिएको एक कार्यपालिका सदस्यले बताएका छन् ।
इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले वडाबाट प्राप्त सिफारिसकै आधारमा जग्गालाई आवासीय कायम गरिएको दाबी गर्नुभयो ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको स्थानीयले बताएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।











Discussion about this post