सुनसरी । सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रमा थप निगरानी बढाएपछि गिट्टी र बलुवा तस्करी गर्ने तस्करहरू बिचल्लीमा परेका छन् ।
जिल्लाको सीमावर्ती क्षेत्रमा लुकिछिपि हुदैँ गरेको तस्करीमा अहिले सुनसरी प्रहरीको सकृयताका कारण शुन्य अवस्था झरेको सीमावर्ती क्षेत्रका स्थानीयवासीहरूकाे कथन छ ।
सीमावर्ती क्षेत्र घुस्की, बस्नतपुर, नरसिंह, लाैकही, श्रीपुर, हरिपुर, भण्टावारी, साहेवगञ्ज, अमडुवा, कप्तागञ्ज लगायतका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएका छन् ।
जिल्लाको विभिन्न सीमावर्ती नाकामा प्रहरीले निगरानी बढाएपछि भारततर्फ गिट्टी, बालुवा तस्करी गर्ने तस्कर समेत पक्राउ गर्न प्रहरी सफल भएका छन् ।
प्रहरीले दिएको जानकारीअनुसार तस्करहरूले सीमावर्ती क्षेत्रमा दिउँसो टिपरमा विभिन्न स्थानबाट गिट्टी, बालुवा भण्डारण गरी राख्ने र टिपर वा ट्याक्टरमा रातारात सीमा कटाउने गरेको जानकारी आएपछि सीमावर्ती क्षेत्रमा थप निगरानी बढाएको बताए ।
प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएपछि हरिनगर गाउँपालिका–५ स्थित सिसुवा धर्मपुरबाट प्रहरीले टिपरमा भारततर्फ गिट्टी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाउन प्रहरी सफल भएका हुन् ।
भारततर्फ गिट्टी बालुवा तस्करी भइरहेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले को १ ख ७२९९ र प्र १–०२००१ क ३६७७ नम्बरको टिपरसहित गिट्टी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
नियन्त्रणमा लिएको टिपरको २५–२५ लाख र गिट्टीको २०–२० हजार गरी जम्मा ५० लाख ४० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको हो । भारतसँग सीमा जोडिएका वसन्तपुर, भुटाहा, घुस्की नाका हुँदै दैनिक १५ देखि २५ ट्याक्टर बालुवा, गिट्टी भारततर्फ तस्करी हुने गरेको स्थानीय बताउँछन् ।
पटक पटक सचेत गराए पनि विभिन्न बहानामा तस्करहरूले बालुवा, गिट्टी तस्कर गराउँदै आएकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । घर बनाउने बहानामा व्यापारीहरूले विभिन्न स्थानबाट गिट्टी, बालुवा ल्याई दिउँसो भण्डारण गरेर रातको समय सीमा कटाउने गरिएको नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले बताए ।
Discussion about this post