इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आन्दोलनरत १५ जना करारका कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान आन्दोलनरत चार महिला कर्मचारीसहित १५ जनालाई पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी निरीक्षक बद्रीविक्रम दाहालले जानकारी दिए।
स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरूले करारमा आफ्ना मान्छेलाई राखेर आफूहरूलाई हटाएको भन्दै कर्मचारीहरू आन्दोलित बनेका छन्। पछिल्लो ११ दिनयता करार सेवाका ५७ कर्मचारी आन्दोलित बनेपछि नगरपालिकाको कामकाज ठप्प बनेको छ।
असार ३२ गते नगरपालिकाले नगरपालिकाको कार्यालय र विभिन्न वडामा कार्यरत् एक सय ८७ जना करारका कर्मचारीमध्ये ५७ जनालाई निष्कासन गरेको थियो भने अरू ७९ जना करार सेवाका कर्मचारीको म्याथ थप गरेको थियो।
विभेदकारी ढंगले आफूलाई हटाइएको भन्दै निष्कासित कर्मचारीले नगरपालिकाको कार्यालयअगाडि आन्दोलन गरिरहेका छन्।
इनरुवाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले नगरपालिकाले आवश्यकताका आधारमा कार्य मूल्यांकनलाई ध्यान दिई साउन १ गतेदेखि लागू हुनेगरी कर्मचारी कटौती गरेको बताएका छन्। अन्य बाँकी कर्मचारीसमेत कार्य मूल्यांकनका आधारमा कटौती गरिने उनको भनाइ छ।
करार सेवाका कर्मचारी असार ३० गतेको कार्यपालिका बैठकको निर्णयअनुसार साउन १ गतेदेखि हटाइएको भएपनि कर्मचारीले नगरपालिकाको मूल गेटमा धर्ना दिदाँ सेवा प्रवाह प्रभावित भएको उनको भनाइ छ। अधिकृत निरौलाले कार्यपालिकाको निर्णयअनुसार करारका कर्मचारी हटाएकाले नयाँ केही व्यवस्था गरी सेवा प्रवाहलाई नियमित गर्ने बताए।
Discussion about this post