इनरुवा । पूर्व–पश्चिम राजमार्ग स्तारोन्नती आयोजना अन्र्तगतको काकडभिट्टा–लौकही सडक खण्डभित्र इनरुवा नगरपालिकाभित्र छ लेनको सडक निर्माण हुने भएको छ ।
सोमबार इनरुवामा आयोजित राजमार्ग स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मुल्यांङ्कन प्रतिवेदनको सार्वजनिक सुनवाई कार्यक्रममा सो कुराको जानकारी दिईएको हो ।
ठाँउअनुसार २४ देखि ३२ मिटरसम्म कालोपत्रे बन्ने सो आयोजना अन्र्तगत इनरुवा नगरपालिकाको वडा नम्बर ६ को भोटेखोला अन्डरपासदेखि सुनसरी खोलासम्म दुबैतर्फ दुई सर्भिस लेन र मुल सडक चार लेनको गरी छ लेनको बन्ने गरी डिजाईन तयारी पारिएको छ ।
त्यसभन्दा पूर्व वडा नम्बर ६ अन्र्तगत पर्ने राजमार्ग भने चार लेनको २४–२४ मिटरको बन्ने छ ।
इनरुवा ४ का वडाध्यक्ष बौवालाल मेहताका अनुसार ८२ दशमलब ५ मिटर सडक क्षेत्रभित्र पर्ने घर र टहरा भत्काउँदा आयोजनाले त्यसको मुआब्जा दिने छ भने जग्गाको मुआब्जा नदिने जानकारी दिए ।
आयोजनाको परामर्शदाता कम्पनी सुसुङ्ग इन्जिनियरिङ्ग कोरिया ईन एशोसिएसन विथ इन्भाएरोमेन्ट एण्ड रिसोर्स मेनेजमेन्छ कन्सलट्यान्ट प्रा.ली. एण्ड टेक स्टुडियो अफ इन्जिनियरिङ्ग प्रा.ली.ले इनरुवा नगरपालिकामा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको हो ।
त्यस्तै नगरपालिकाको शहरी क्षेत्र अन्र्तगतको मुख्य राजमार्ग पार गर्नु पर्ने चौकहरु सखुवागाछी, महेन्द्र चौक र बसचौकमा बाटो काट्न सहज हुने गरी ट्राफिक लाईटको ब्यवस्थापन गरिने छ । त्यस्तै सुनसरी खोलामा स्वर्गद्धारी घाट र गढिनाथको मन्दिर जाने ठाँउमा मुख्य राजमार्गबाट सहायक मार्ग निर्माण गरिने छ ।
काकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर लामो सडक निर्माण हुनेमा पहिलो चरणमा काकडभिट्टादेखि पकली क्षेत्रसम्मको सडकको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अगाडि बढीसकेको छ । पकलीदेखि लौकही सडक खण्ड अन्र्तगत पकलीदेखि कोशी टप्पु बन्यजन्तु आरक्षको गेट अर्थात नहर चौकसम्मको सडक स्तरोन्नतिको प्रक्रिया भने अबको करिब छ महिनापछि मात्रै अगाडि बढने कार्यक्रममा जानकारी दिईएको थियो । सोमबारै राजमार्ग अन्र्तगत पर्ने भोक्राहा नरसिंह गाउँपालिकामा समेत सार्वजनिक सुनवाई गरिएको छ ।
१२० किलोमिटर सडक स्तरोन्नतिको क्रममा १२ नगरपालिका ४ गाउँपालिका १ उपमहानगरपालिकाको गरी ८२ वटा वडा प्रत्यक्ष रुपमा प्रभावित हुने छ । जसभित्र १ लाख २७ हजार २०१ घरधुरीका ५ लाख १२ हजार २९७ जनसंख्या प्रभावित हुने छ ।
त्यसैगरी आयोजना निर्माणको क्रममा काटिने रुखको क्षतिपूर्तिबाट एकको अनुपातमा दशवटा रुख रोपिने छ । जसमा यो खण्डमा १२ हजार ४४८ वटा रुख काटिने भएकोले त्यसको साटो सडक निर्माणपछि १ लाख २४ हजार ४८० वटा नयाँ रुख रोपिने छ भने आयोजनामा पर्ने धार्मिक संरचना, घाटसम्म पुग्ने सडक पुर्ननिर्माण वा पुनस्थापना गरिने छ ।
Discussion about this post