सन्तोष मेहता/ विराटनगर । पाँच कन्टेनर चाइनिज स्याउ प्रहरीले हिजो साँझ विराटनगरबाट नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत चीनबाट भारतको कोलकाता हुँदै नेपाल भित्राइएको स्याउसहित थप तीनवटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । विराटनगर महानगरपालिका–१३ मलाया रोडबाट नियन्त्रणमा लिइएका पाँचवटा कन्टेनर र तीनवटा ट्रक गरेर आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा साँझ ६ः३० बजेतिर नियन्त्रणमा लिइएको हो । साथै भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । सम्बन्धित ठाउँमा नपुर्याइकन ‘अनलोड’ गरिएको र भीसीटीएस तथा आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शंकास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । प्रहरीले शंकास्पद अवस्थामा एनएल ०१ एई ४७०५, एनएल ०१ एबी २४१०, एनएल ०१ एई ३७२२, एनएल ०१ क्यू २२२२ र एनएल ०१ एन २६६३ नम्बरको कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरलाई बाटोमै रोकेर स्याउ ‘अनलोड’ गर्दै गरिएका ना ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १–०२–००१ ख् ८५५६ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तर कन्टेनर विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर गन्तव्यका लागि हिँडेका थिए । स्याउ कसले आयत गरेको हो त्यो खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताउनु भयो । ‘शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएका कन्टेनर र ट्रकसहित स्याउ राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको छ,’ उहाँले भन्नु भयो, ‘अनुसन्धान र कारबाहीको थप प्रक्रिया राजस्वले नै अघि बढाउँछ ।’ प्रहरीले कन्टेनर र ट्रकका चालकलाई पनि पक्राउ गरेको छ । चीनबाट आयात गरेर चाइनिज स्याउ भारततिर तस्करी गर्ने गरिएको छ । प्रहरीले बरामद गरेको स्याउ पनि भारततिरै तस्करी गर्नलाई आयात गरिएको हुनसक्ने आशंका छ ।
Discussion about this post