मन्ताेष मण्डल /चिराैली । सुनसरी सहितका तराई मधेस क्षेत्रमा आज चौरचन पर्व मनाइदैछ । तराई मधेसमा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ ।
चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले सुनसरी सहित तराई मधेसमा हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलफुल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ ।
खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ ।
अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदाैँ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । यो ब्रतको प्रभावले मिथ्या दोष नलाग्ने जनविश्वास रहेको बुढापाकाहरू बताउँछन् ।
सुनसरीको भाेक्राहा नरसिंह , काेशी, हरिनगर, गढी , बर्जु, देवानगञ्ज र इनरूवामा प्रत्येक हिन्दु समुदायको घरघरमा चाैरचन पर्व मनाउने तयारीमा जुटेका छन् ।भने धरान, इटहरी , दुहबी , रामधुनी र बराहक्षेत्र लगायतका स्थानीय तहमा रहेका समुदायमा केही कम घरमा मात्रै चाैरचन पर्व मनाउने तयारीमा जुटेको प्रदेश प्वाइन्ट डट कमका सम्वाददाताहरूले जानकारी दिएका छन् ।
Discussion about this post