इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सहितका टीमले एक साता भित्र उत्कृष्ट कामकाे शुरूवात गरेका छन् ।
प्रहरी टीमले अदालतबाट दोषी ठहर भएका ६१ जना प्रतिवादीलाई एकैदिन पक्राउ गर्न सफलता पाएका छन् ।
अपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका ठूलो संख्याका प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले मंगलबार एकै दिन ६१ जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ गरेर प्रतिवादीहरुलाई अदालतमा पेश गरिएको छ।
पक्राउ गरेर प्रहरीले बुझाएपछि कैदको फैसला भएका प्रतिवादीलाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ। जरिवाना तोकिएकालाई त्यसवापतको रकम असुल गरेर अदालतले छाड्ने गर्छ।
एसपी ढकालका अनुसार अदालतको फैसला कार्यान्वयनअन्तर्गत विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको छ।
विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको जानकारी उनले दिए।
प्रतिवादीलाई पक्राउ गर्दा अपराध गरेर भागे पनि कानुनले छाड्ने रहेनछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ। अपराधीलाई नियन्त्रणमा लिँदा आमनागरिकमा कानुन र प्रहरीप्रतिको विश्वसनीयता बढेको ढकाल बताउँछन्।
चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म एक सय ३० जना फरार प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिसकिएको उनको भनाइ छ।
फरार प्रतिवादी पक्राउ गर्दा २६ वर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रुपैयाँ जरिवाना असुल भएको जानकारी एसपी ढकालले दिए।
Discussion about this post