इलाम । “स्वदेशमा नै राेजगारी गराैँ, वैदेशिक राेजगारीमा जाने नै भए , सही सूचना लिएर र सीप सिकेर मात्रै जाऔं” भन्ने मुल नाराका साथ रिटर्नी स्वयंसेवकहरूकाे लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
प्रदेश नम्बर १ काे सुन्दरनगरी एंव पर्यटकीय क्षेत्र समेत रहेको इलाम नगरपालिका स्थित इलाम बजारमा हेल्भेटास नेपालकाे सहयोग तथा सामी कार्यक्रम प्रदेश नम्बर १ कार्यालयकाे आयाेजनामा तालिम सम्पन्न भएको हाे ।
साे तालिमका प्रमुख अतिथि एंव इलाम नगरपालिकाका प्रमुख केदार थापाले सुन्दर नगरीमा इलाममा सुनसरी, उदयपुर र झापा जिल्लाका रिटर्नी स्वयंसेवकहरूलाई स्वागत गरेका थिए ।
नगरप्रमुख थापाले कार्यक्रममा बाेल्दै आफू वैदेशिक राेजगारसँग सम्बन्धित हरेक सुखदुःखमा पिडित आप्रवासीहरूकाे साथी बनेर काम गर्दै आएको बताए ।
उनले भने इलाम जिल्लाको चार वटा पालिका श्रम तथा राेजगार शाखा स्थापना गरि सञ्चालनमा ल्याइएको जानकारी दिए ।
त्यस्तै हेल्भेटास नेपाल तथा सामी कार्यक्रमका प्रदेश नम्बर १ का प्रवन्धक काेपिला दाहालले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउनका लागि हाम्राे टीम गाउँ – गाउँमा सकृय रहेकाे बताइन् ।उनले भने हाम्राे टीममा आवद्व रिटर्नी आप्रवासीले विभिन्न स्थानीय तहमा स्वयंसेवककाे रूपमा काम गर्न सहज बनाउनका लागि आधारभुत क्षमता अभिवृद्धि तालिमको आयाेजना गरिएको जानकारी दिइन् ।
प्रदेश प्रवन्धक दाहालका अनुसार नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी संचालनमा थिए ।
हाल सुरक्षित आप्रवासन परियोजना (SaMi) तेस्रो चरण परिवर्तित सन्दर्भको संघीय संरचना अनुरूप कतिपय स्थानीय सरकारहरू मार्फत कार्यान्वयन भएका छन् भने केही स्थानीय तहमा संचालन गर्न बाँकी रहेको बताइन् ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यो परियोजना ३९ जिल्लाका १५६ स्थानीय तहहरुमा सञ्चालित छ भने हाललाई परियोजनाको अन्तिम समयसिमा २०७९ असार ३१ सम्म रहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको उनलेे बताईन् ।
त्यस्तै तालिमका प्रशिक्षक एंव सुनसरी, उदयपुर र माेरंगका कार्यक्रम संयाेजक देवनारायण चाैधरी ( डि.एन) ले वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने र गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप,परामर्श लगायतका सहयोग प्रदान गर्ने उद्देश्यकाे विषयमा प्रकाश पारेका थिए ।
साेही कार्यक्रमका अर्का प्रशिक्षक एंव झापा, इलाम र पाँचथरका कार्यक्रम संयाेजक रामकुमार कर्णले आप्रवासी कामदारहरूलाई वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल बृद्धि गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
साे कार्यक्रममा इलामका कार्यक्रम संयाेजक इश्वरी तमांग , कार्यक्रम अधिकृत उमा पाैडेल र इनरूवा नगरपालिकाका सामाजिक परिचालक प्रमाेद मेहताले समेत तालिममा प्रशिक्षण दिएका थिए ।
उनीहरूले वैदेशिक रोजगारमा जाने सम्भावित कामदार,वैदेशिक रोजगारमा रहेका कामदार ,वैदेशिक रोजगारबाट फर्केका कामदार,वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरुलाई सुचनामा पहुँचः सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सुचना उपलब्ध गराउने विषयमा प्रशिक्षण दिइएको आयाेजक संस्थाले जानकारी दिए ।
Discussion about this post