इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको मूख्य बजारमा घण्टाघर निर्माण थालिएको छ । सो घण्टाघरको बुधबार औपचारिक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नगर प्रमुख राजन मेहताले शिलान्यास गर्नु भएको घण्टाघर ५२ फिट अग्लो रहने छ । इनरुवा १ भगवती रोडमा बन्न लागेको घण्टाघर परिषरमा आधुनिक शैलीको पार्क समेत निर्माण गरिने बताइएको छ ।
घण्टाघर निर्माणको भ्याट सहितको लागत ८९ लाख ८७ हजार ३ सय ८७ रुपैंया रहेको छ । घण्टाघर प्रचबी बिल्डर्स, इनरुवा २ ले निर्माण गर्न लागेको हो ।
निर्माण व्यवसायी प्रकाश मेहताका अनुसार घण्टाघर निर्माणको कार्य २०७८ सालको माघ महिनामा सम्पन्न हुने छ ।
शिलान्यासको क्रममा नगर प्रमुख मेहताले घण्टाघरलाई भ्यू टावरको रुपमा अघि बढाउने योजना रहेको बताए । उनले पहिलो चरणको काम सम्पन्न भए पश्चात नगरवासीको इक्षा र चाहना बुझेर आवश्यक अन्य प्रकृया चालिने बताए ।
मेहताले घण्टाघर परिषर आसपास स्ट्रिट लाइट जडान गरिने हुँदा निर्माण सम्पन्न पश्चात पार्क रमणीय बन्ने विश्वास व्यक्त गरे । उनले सो स्थान घुमघाम गर्ने र साँझ विहान रमणीय स्थानमा बिताउनेहरुको लागि उपयुक्त गनतब्य बन्ने बताए ।
नगर प्रमुख मेहताले उक्त स्थान वरपर साँझबाट निश्चित समय तोकी रात्रीकालिन बजार समेत संचालनमा ल्याइने विषयमा छलफल थालिएको बताए ।
Discussion about this post