पुष्पा कुमारी यादव/ इनरुवा । बैदेशिक राेजगारका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकहरूकाे सम्झानामा सुनसरी सदरमुकाम इनरूवा बजार स्थित इनार चाैक (गाेल चाैक) मा दीप प्रज्वलन गरिएको छ । २२ औं अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ काे अवसरमा इनरुवाकाे इनार चाैकमा इनरूवा नगरपालिका र भाेक्राहा नरसिंह गाउँपालिकाका सुरक्षित आप्रबाशन कार्यक्रममा कर्यरत्त कर्मचारीहरूकाे सहभागीतामा दीप प्रज्वलन गरि आप्रवासी श्रमिक दिवस मनाइएको हाे । उता देशभर ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान – उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाएकाे छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार विश्वमा २८ करोड ५९ लाख मानिसहरु आप्रवासी श्रमिकको रूपमा रहेका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म झण्डै ६० लाखले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९ सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ । दुई हजार १ सय २५ जना गम्भीर बिरामी तथा अंगभंग भएर भएर स्वदेश फर्किएका छन् ।
यसैबीच, आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउन राज्य उदासिन रहेको भन्दै गुनासो बढीरहेको छ । पर्याप्त ऐन कानून हुँदा समेत तिनको कार्यान्वयनमा प्रभावकारी पहल नहुँदा समस्या विकराल बन्ने जोखिम रहेको विज्ञहरु बताउँछन् ।
Discussion about this post