सप्तरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस १९ गते सम्पन्न भएको छ ।
कार्यक्रमको समापन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता कलवारले समाजमा रहेका कुरीतिहरू सबै मिलेर अन्त्य गर्नुपर्ने बताउनु भयो । बोक्सी, दाइजो, बाल विवाहलगायत सामाजिक कुरीति र कालाबजारीलाई अन्त्य गर्न प्रयास जारी राखेको बताउनु भएका नगर प्रमुख गुप्ताले मिलेर अगाडि बढेमा चाँडै गन्तव्यमा पुगिने भन्नु भयो । उहाँले शिक्षाका लागि बालबालिकाका परिवारका सदस्यलाई अभिप्रेरित गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
शम्भुनाथ नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष धर्मेन्द्रकुमार मण्डलले मानवअधिकारको रक्षाको लागि महिलाहरूको भूमिका महत्वपूर्ण हुने भन्नुहुँदै सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो । नगरपालिकाका कार्यपालिका सदस्य शिवशंकर रामले निरन्तरको प्रयासले मात्र सामाजिक कुरीति अन्त्य गरी आिर्थक, सामाजिक अधिकार सम्बोधन गर्न सकिने बताउनु भयो ।समूहकी देवमाया भट्टराई विश्वकर्माले महिलाको विकास, सशक्तिकरणका लागि स्थानीय तहले महिलासम्बन्धी विशेष नीति ल्याउनु पर्ने र सो अनुरूप बजेट व्यवस्था गर्नुपर्ने बताउन भयो । तालिममा मधेस प्रदेश संयोजक राजु पासवानले इन्सेक परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता विषयमा प्रशिक्षण दिनु भयो ।
यसैगरी इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र नगरपालिकाको भूमिकाका बारेमा सहजिकरण गर्नु भयो । कार्यक्रमका फोकल पर्सन बरुण बस्यालले मानव अधिकार समूहको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको अधिकारका विषयमा प्रशिक्षण दिनु भयो ।
सहजकर्ता विश्वेन्द्र पासवानद्वारा सञ्चालित दुई दिने तालिममा उपप्रमुख अनीता कुमारी चौधरी, वडा अध्यक्षहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समूहका पदाधिकारीहरूसहित ४० जनाको सहभागिता रहेको थियो ।
Discussion about this post