काठमाडौं । देशभरीका क्रसर उद्योग बन्द हुँदा गिट्टी–बालुवाको अभाव भएपछि निर्माण क्षेत्र प्रभावित भएको छ । बालुवा र गिट्टीको अभावमा देशभरी झन्डै ८० प्रतिशत निर्माण कार्य प्रभावित भएको बताइएको छ ।
आरसीसी संरचना निर्माणमा नभई नहुने गिट्टी–बालुवाको अभाव चर्किंदा व्यक्तिगत घर, हाउजिङ तथा अपार्टमेन्ट परियोजना, कमर्शियल भवनदेखि ठूलो विकासे आयोजना निर्माणसम्म प्रभावित भएका छन् ।
गृह मन्त्रालयले २२ पुसदेखि देशभरका अवैधानिक क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर, क्रसर व्यवसायीहरुको छाता संस्था नेपाल क्रसर तथा खानी उद्योग महासंघले विरोध स्वरुप देशभरका उद्योग बन्द गराएको छ ।
देशभर ११ सय भन्दा बढी क्रसर उद्योग सञ्चालनमा रहेको गृहको आँकडा छ, जसमध्ये तीन सयभन्दा बढी क्रसर उद्योग वैधानिक रुपमा सञ्चालन हुँदै आइरहेका छन् । अवैध रुपमा सञ्चालन भइरहेका ८ सयभन्दा धेरै अवैध क्रसर उद्योगलाई बन्द गराएको गृहको जिकिर छ ।
अहिले देशभर निर्माण भइरहेका आठ हजार आयोजनामध्ये गिट्टी बालुवाको अभावमा २० प्रतिशतको मात्र काम भइरहेको छ ।
क्रसर उद्योग बन्द भएर अभाव चर्किएपछि बजारमा गिट्टी–बालुवा दोब्बर मूल्यमा बिक्री भइरहेको थियो । त्यही दोब्बर मूल्यमा पनि पछिल्लो समय अभाव चर्किएपछि पाउन छाडिसकेको बताइन्छ ।
प्रतिटिप्पर चार हजार पर्ने गिट्टीको मूल्य आठ–नौ हजारसम्म पुगेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘पहिला गिट्टी ४ हजार टिपर भन्थे, पछि ८/९ हजार पुगेको थियो । अहिले त छँदै छैन भन्छन्’ उनले भने ।
पर्याप्त तयारी बिना नै एक्कासी क्रसर उद्योगहरु बन्द गराउँदा देशभरको निर्माण क्षेत्र प्रभावित भएको निर्माण व्यवसायीको गुनासो छ ।
९ चैत ०७७ मा सर्वोच्च अदालतले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न आदेश दिएको थियो ।
तर, सरकारभन्दा बलिया क्रसर उद्योगीहरुले स्थानीय प्रशासनलाई प्रभावमा पारेर निरन्तर क्रसर चलाउँदै आइरहेका थिए ।
गृहमन्त्रीको कुर्चीमा रवि लामिछाने आएपछि सर्वोच्चको सोही आदेशलाई आधार मानेर देशभरका अवैध क्रसर उद्योग बन्द गराउन थालेका हुन् ।
सरकारले समय नै नदिई एकैपटक अवैध क्रसर बन्द गराउँदा त्यसको असर निर्माण क्षेत्रमा देखिएको हो ।
Discussion about this post