तपाई आफ्नो व्यक्तिगत विवरण (नागरिकता, लाइसेन्स, पासवर्ड) लगायत सरकारी आईडीको गोपनियतालाई कति सुरक्षित राख्नुहुन्छ ? तपाईको यी विवरणहरुको फोटोकपिको दुरुपयोग त भइरहेको छैन ? यसबारे तपाई चनाखो बन्नैपर्छ । आफ्ना यस्ता विवरणलाई सुरक्षित राख्नु भएन भने तपाई ठूलो समस्यामा पर्नुहुनेछ ।
बेग बहादुर श्रेष्ठ र उनकी श्रीमती तेज माया श्रेष्ठ पनि यस्तै समस्यामा परेका छन् । श्रेष्ठ दम्पतिद्वय नागरिकता फोटोकपीको दुरुपयोग हुँदा ठगिएका छन् ।
गत डिसेम्बर ९ र डिसेम्बर १२ मा श्रेष्ठ दम्पतिद्वयले प्रयोग गर्दै आइरहेको नेपाल टेलिकमको सिम एकाएक अर्कै व्यक्तिले निकाले । दम्पतिद्वयले प्रयोग गर्दै आएको ९८६०२०६७२१ र ९८४२८८०८६४ नम्बर उनीहरुको नागरिकताको फोटोकपिको सहायताबाट निकालियो । नागरिकताको दुरुपयोग गरी अपरिचित व्यक्तिले टेलिकमको सिन्धुली र जावलाखेल शाखाबाट सिम निकाले । यस बिषयमा दुबैजना अनविज्ञ थिए । ती व्यक्तिले सिम मात्र निकालेनन् श्रेष्ठ दम्पतिद्वयको बैंकिङ्ग डिटेल समेत कब्जा गरे ।
अनि खुल्यो घटनाको रहस्य
सिमकार्ड निकालेर अर्कै व्यक्तिले दुरुपयोग गरिसक्दा पनि श्रेष्ठ दम्पति अनविज्ञ थिए । जब पैसा निकाल्न भनेर डिसेम्बरमा बैंक पुगे अनि मात्र घटनाबारे थाहा पाए । श्रेष्ठ भन्छन्, ‘म आफ्नै काममा व्यस्त थिए । सिमले १२ डिसेम्बरदेखि नै नेटवर्क दिएको थिएन । फुर्सदमा निकाल्छु सोचेको थिएँ । सिम नै नचलेसी मोबाइल बैंकिङ ह्याक भएको कसरी थाहा पाउनु । श्रीमती १६ डिसेम्बरमा बैंकमा पैसा निकाल्न जाँदा पो थाहा पायौँ । पैसा अर्कै व्यक्तिले निकालिसकेको रहेछ ।’
आफुले पैसा निकालेकै छैन उता बैंकको पैसा अर्कै व्यक्तिले लगिसक्दा श्रेष्ठ दम्पत्ति छाँगाबाट खसे जस्तै भए ।
ग्लोबल आईएमई बैंकको खाताबाट पटकपटक गरेर श्रेष्ठ दम्पतिद्वयको खाताबाट एक लाखभन्दा बढी रकम गायब भयो । अपरिचित व्यक्तिले उनीहरुको खाताबाट पटकपटक गरी पैसा निकालेको बैंक विवरणमा देख्न सकिन्छ ।
नेपाल टेलिकमले हचुवाको भरमा ब्यक्तिको पहिचान नगरि सिम दिँदा आज आफू बर्बाद भएको श्रेष्ठले बताए । उनी यो समस्या समाधानका लागि विगत तीन महिनादेखि बैंक, टेलिकम, साइबर ब्यूरो सबैतिर धाइसके । तर उक्त समस्याबाट अझै मुक्ति पाउन सकेका छैनन् । टेलिकमको लापरबाहीले गर्दा उनीहरुको पसिनाको कमाई त गयो त्यसमा पनि अनावश्यक सास्ती समेत खेप्नुपरेको छ ।
तपाईहरुले नागरिकताको फोटोकपिकै आधारमा सिम दिनुहुन्छ ? भन्ने अर्थसञ्जालको प्रश्नमा टेलिकमका प्रवक्ता शोभन अधिकारीले ग्राहकको सजिलोको लागि पहिले पहिले त्यसरी सिम दिने गरेको स्वीकार गरे ।
उनी भन्छन्, ‘ग्राहक गलत नियतका हुन्छन् भनेर हामीले बुझ्न मिल्दैन । ग्राहककै सजिलोको लागि कहिलेकाही त्यसरी पनि सिम दिइन्थ्यो । तर अहिले भने सक्कल प्रमाणपत्र बिना सिम वितरण गर्दैनौँ ।’
यी र यस्तै घटनाहरु एकपछि अर्को गरि सार्वजनिक हुन् थालेपछि भने टेलिकमले सक्कल प्रमाणपत्र र व्यक्तिको पहिचान गरेर मात्र सिम दिन थालेको बताएको छ । उक्त व्यवस्था लागू गर्न सबैतिर सर्कुलर जारी भएको टेलिकमका प्रवक्ताले बताए । यो व्यवस्था सबैतिर लागू भएको छ या छैन भन्ने विषयमा भने टेलिकम अझै अनविज्ञ छ ।
नेपाल टेलिकमको यस्तो प्रकारको लापरबाहीले सास्तीसंगै ठुलो क्षति व्यहोर्नु परेको ग्राहकहरुको गुनासो छ ।
Discussion about this post