सुबिन विश्वकर्मा/बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित रामधुनी–प्रकाशपुर सामुदायिक वन उपभोक्ता समूहले वन कार्यालयको अनुमतिभन्दा बढी अवैध रुपमा रुख काटेको पाइएको छ । अवैध रुपमा रुख कटान गरि थुपारेर अन्यत्र विक्री–वितरण गर्ने अबस्थामा उपभोक्ताले फेला पारेपछि घटना बाहिर आएको हो ।
जिल्ला वन कार्यालय सुनसरीले गत फाल्गुन २६ गते २० ओटा सालको रुख र एउटा बोट धाइरो कटान गर्ने अनुमति दिएको थियो । यद्यपि उपभोक्ता समितिले वन कार्यालयको अनुमतिभन्दा २१९ टुन (टुक्रा) बढी काटेर राखिएको समितिका उपाध्यक्ष नीर बहादुर बस्नेतले जानकारी दिए । ‘अहिले हामीसँग वनले दिएको भन्दा २१९ ओटा बढी टुन टुक्राहरु छन्’, उनी भन्छन्, ‘त्यसमा सबै अवैध छैनन् ।’ जिल्ला वनले दिएको अनुमतिअनुसारकै रुख काट्दा धेरै टुन टुक्राहरु आएका, विगतदेखिका चोरीपैठारीबाट जम्मा भएका लगायतका कारण अहिले धेरै टुक्राहरु देखिएको उनको दावी छ ।
सुख्खा खडा, ढडापडा रुख काट्न पनि सम्बन्धित डिभिजन वन कार्यालयसँग कार्ययोजना नवीकरण गराई कटान अनुमति लिनुपर्ने हुन्छ । तर यहाँ भने उपभोक्ता समिति र सब डिभिजन बनकै मिलेमतोमा रुखहरु काटिने गरेको डिभिजनकै एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।
स्रोतकाअनुसार यसअघि पनि समितिले मिलेमतोमा अबैध रुख काट्न र बिक्री–वितरण गर्न सब डिभिजन बन कार्यालय रामधुनीका रेञ्जर श्यामकुमार महत्तोलाई ’कमिसन’ दिने गरेको थिए । यद्यपि रेञ्जर महत्तो भने यस कुरा स्विकार्न तयार छैनन् । हाम्रोशब्द सँग कुरा गर्दै उनले भने, ’बन समितिका अन्य सार्वजनिक कार्यक्रमहरुमा जाँदा भत्तावापतको खाजा, पेट्रोल खर्च लिएको हुनसक्छ, तर अबैध काठ काट्न र बेच्न कमिसन लिएको छैन् ।’ बन समितिका उपाध्यक्ष बस्नेतले भने यसअघि बिना भर्पाइको ७ हजार रुपैयाँ रेञ्जर महत्तोलाई र वनका अन्य दुई बनरक्षक कर्मचारीलाई १२ हजार रुपैयाँ दिएको स्विकार गरे ।
घट्नाको सत्यतथ्य छानबिनका लागि समितिका एक उपभोक्ता संगीता किराँतीले सब डिभिजन बन कार्यालय रामधुनीमा हप्ता दिनअघि निवेदन दिएकी छन् । तर सोउपर आजसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
रामधुनी नगरपालिका ४ र बराहक्षेत्र नगरपालिका १० र आसपासकाका गरि १६ सय बढी उपभोक्ताहरु रहेको सो उपभोक्ता समितिले यसअघि पनि पटकपटक अबैध रुपमा रुख काट्ने गरेको स्थानीयहरु बताउँछन् । उपभोक्ता कार्यसमितिका सदस्य ज्युदिष्टिर चन्द्रबंशीका अनुसार समितिमा अध्यक्ष जगतबहादुर कटुवाल र उपाध्यक्ष नीरबहादुर बस्नेत हावी भइ एकलौटी निर्णय गर्दै आएको आरोप लगाएका छन् । अघिल्लोपटक पनि समितिले १५ लाख बराबरको हिसाबकिताब पारदर्शी गर्न सकेको छैन्, अहिले पनि २–३ लाख मूल्य पर्ने २१९ टुन टुक्राको पारदर्शिता देखाएको छैन’ उनले भनें ।
Discussion about this post