काठमाडौँ — न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम तलब ४० प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । समितिकी अध्यक्ष संगीता खड्काले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आइतबार बुझाएको प्रतिवेदनमा पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ रुपैयाँ पुर्याउन सिफारिस गरिएको हो । यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ३७५ तोकिएको थियो ।
‘श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमान (आधारभूत तलब) पछिल्लो तलबमा ४० प्रतिशतका दरले वृद्धिका लागि सिफारिस गरिएको छ,’ समितिले जनाएको छ । जसमा सहायक संवददाताको ३४ हजार १ सय २५, संवाददाता, फोटो पत्रकार, प्रेस प्रतिनिधिको ३७ हजार ५ सय ३८, वरिष्ठ संवाददाता, भाषा सम्पादक, सहायक सम्पादकको ४० हजार ९००, उपसम्पादकको ४३ हजार २ सय ७२, वरिष्ठ भाषा सम्पादक, वरिष्ठ फोटो पत्रकारको ४५ हजार ३०० र प्रमुख समाचारदाता, समाचार संयोजक, समाचार सम्पादक, श्रब्य, दृश्य, फोटो सम्पादकको ४८ हजार, सहसम्पादकको ५० हजार ४०० न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले २०७५ सालयता श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको नयाँ पारिश्रमिक निर्धारण नभएकाले सबै तहमा ४० प्रतिशत पारिश्रमक वृद्धि गर्ने गरी प्रतिवेदन तयार पारिएको बताइन् ।
समितिको सिफारिस बुझ्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । ‘श्रमजीवी पत्रकारहरुले उचित तलब पाउनुपर्छ भन्नेमा सञ्चार मन्त्रालय सकारात्मक छ,’ उनले भनिन्, ‘यसमा कसरी अगाडि बढ्ने भन्नेमा मन्त्रालयले गृहकार्य गर्नेछ ।’
Discussion about this post