जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ स्थित एक घरमा झु ण्डिएको अवस्थामा भेटिएकी युवतीको ह त्या गरिएको माइती पक्षले दाबी गरेका छन् ।आइतबार बेलुका २२ वर्षीया आरती साहको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । तत्काल काब्या अस्पताल अस्पताल लगिएकोमा उनको मृत्यु भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्याइएको थयियो । आरतीको शवको अहिले पनि अस्पतालमै छ ।
माइत पक्षले आरतीको आत्महत्या नभएर हत्या गरिएको दाबी गरेका छन् । दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका-३ का मोतीबाबु साहसँग भएको थियो ।दाइजोको निहुँमा छोरीको हत्या गरेको दाबीसहित नगराइन नगरपालिका-८ का विनोदप्रसाद साहले श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुविरुद्ध धनुषा प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले उजुरी दर्ता गरेको छैन ।
उनले उजुरीमा छोरी आरतीको विवाहमा २५ लाख रूपैयाँ खर्च गरेको दाबी गर्दै भनेका छन्, ‘थप दाइजोका लागि पटक-पटक यातना दिँदै आएको थियो ।’आरतीको शरीरको विभिन्न भागमा निलडाम देखेपछि घटनास्थल पुगेको र त्यहाँ पुग्दा कुटपिट गरी ज्यान मारेको स्थानीयबाट खुल्न आएको उजुरीमा दाबी गरिएको छ ।ज्वाइ मोतीबाबुको काठमाण्डुमा अर्कै महिलासँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी भएपछि श्रीमान श्रीमतीबीच पटक पटक विवाद हुँदै आएको जानकारी दिए । ईञ्जिनियर भनेर छोरीको विहे मोतीबाबुसंग गरेको भए पनि उनी भने दलालको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको उल्लेख गरे । यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेको र खाना खानको लागि आग्रह गर्दा उनी रिसाएको र सो क्रममा मैले एक झापड हिर्काएर घरबाट बाहिर हिंडेको बताए । साँझ घर फर्केर आउँदा आरती झुण्डिएको अवस्थामा देखेको उनले बताए ।यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले पोष्मार्टम रिपोर्ट नआउँदासम्म हत्या हो कि आत्महत्या भनेर भन्न नसकिने भएको बताए । अनुसन्धान जारी रहेको भन्दै उनले भने,‘पीडित पक्षले कर्तव्य ज्यान मुद्दा दर्ता गर्नका लागि आन्दोलन गरिरहनु भएको छ तर हामीले पोष्टमार्टम रिपोर्ट आउनु अघि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउने भनेको छौं।’ यसैबीच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोहन साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । अनुसन्धान गर्दै जाँदा फेरि कर्तव्य ज्यानकै प्रमाण फेला परेपछि अर्कै मुद्दा चलाउन सकिन्छ भन्दै उनले अहिलेलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान गरिने बताए ।
त्यस्तै,आरतीको परिवारजनले जिल्ला प्रहरी कार्यालय गाडि अबेर साँझसम्म कर्तव्य ज्यान मुद्दा दर्ता हुनुपर्छ भन्दै विरोध प्रदर्शन जारी राखेका थिए । दर्जनौको संख्यामा रहेका आरतीका परिवारजन तथा छिमेकीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि करीब एक घण्टा चक्का जामसमेत गरेका थिए । सो क्षेत्रको सुरक्षा अवस्था कडा बनाइएको थियो ।
Discussion about this post