इनरुवा । सप्तरीमा बहुविवाहको आरोप लागेका फरार आरोपित पक्राउ परे लगत्तै आइतबार कारागार चलान भएका छन् ।
सप्तरी जिल्ला अदालतका अनुसार पक्राउ परेका आरोपित सुनसरी इटहरी उपमहानगरपालिका-७ का ३९ वर्षीय रञ्जितकुमार झा पक्राउ परेलगत्तै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका हुन् ।
सामान्य रुपमा भन्नु पर्दा कुनै पनि विवाहित पुरुषले वैवाहिक सम्वन्ध कायम नै राखेको अवस्थामा पुनः अर्को विवाह गर्ने कार्य नै बहुविवाह हाे ।
नेपालको कानूनले बहुविवाहलाई फौजदारी कसुर अन्र्तगत राखी त्यस्तो कार्य गर्ने पुरुष तथा महिला समेतलाई समान सजायको भागिदार बनाएको देखिन्छ ।
साेही अनुसार जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको इजलाशले झा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको पीडित पक्षका अधिवक्ता डोमन साहले जानकारी दिए ।
झाकी श्रीमती ३६ वर्षीया बन्दनाकुमारी झाले श्रीमान रञ्जितविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीकी २८ वर्षीया दुर्गा झासँग २०७९ माघ ५ गते रञ्जितले विवाह गरेको थाहा पाएको भन्दै बन्दनाले उजुरी दिएकी थिइन् ।
बन्दनाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा गत फागुन १८ गते उजुरी दिएकी प्रहरीले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी मन्दिरमा आरोपितहरुले बहुविवाह गरेको भन्दै पीडितले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन २० गते दर्ता गरेको थियो ।
जातिय परम्परा अनुसार ०६७ फागुन ६ गते विवाहिता पीडितकी नौ र ६ वर्षीया दुई छोरी छिन् । थप दाइजो ल्याउन दवाव दिई कुटपिट गर्दै यातना दिएपछि पीडित रौतहटको गौर नगरपालिका-१ बसतपुरस्थित माइत बस्दै आएकी छन् । जिल्ला अदालतबाट फागुन २१ गते आरोपितहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अर्का आरोपित दुर्गा पक्राउ परेकी छैन् । आरोपित रञ्जितले भने श्रीमतीले झुठा उजुरी दिएको र आरोपित भनिएकी दुर्गा अर्कै मानिसको श्रीमती रहेको बताएका छन् ।
Discussion about this post