काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले सप्तरी घर भई हाल काठमाडौं सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई पक्राउ गरेकाे हाे ।
करिब दुई महिनाअघि मोरङका एक युवाले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । युवतीले एसेप्ट गरिन् ।
फेसबुकमा साथी बनेका युवकसँग युवतीको दैनिकजसो कुरा हुन थाल्यो । प्रेमी प्रेमिकाको जस्ताे सम्बन्ध हुन थालेपछि युवकले ती युवतीलाई नेपाल आएर भेट्न अनुरोध गरे । युवती पनि नेपाल आइन् ।
उनीहरूमा ठमेलमा भेट्छन् । भेट्न जाँदा युवकले आफ्नो साथमा धर्मेन्द्र कुमार साहलाई लान्छन् । ठमेलको क्लबमा गइसकेपछि उनीहरू कुरा गर्दै ‘ड्रिङ्स’ लिन्छन् ।
पछि नाच्न जाँदा युवक (प्रेमी)ले युवतीलाई फोन र ब्याग एउटा ठाउँमा राख्न अनुरोध गर्छन् । त्यही मौका छोपी ती युवकसँग गएका साहले युवतीको फोन खोल्छन् ।
फोनमा कुनै किसिमको लक प्रयोग गरिएको हुँदैन । फोन आफ्नै साथमा भएपछि माेबाइल बैंकिङकाे ट्रान्जेक्सन पिन रिसेट गर्छन् । त्यसपछि युवतीको बैंक खाताबाट आफ्नो बैंक खातामा रकम ट्रान्सफर गर्छन् । अनि एसएमएस डिलिट गरिदिन्छन् । र, सँगै नाच्न जान्छन् ।
क्लबबाट फर्किसकेपछि आफ्नो बैंक खाता हेर्दा युवती छाँगाबाट खस्छिन् । उनको अकाउन्टबाट डेढ लाख रुपैयाँ गायब पारिएको हुन्छ । बैंक अकाउन्टबाट रकम गायब भएपछि उक्त घटनाको उजुरी गर्न ती युवती काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्छिन् र उजुरी दिन्छिन् ।
उजुरी दिएपछि अनुसन्धान थालेको कार्यालयले रकम डिपोजिट भएको बैंक अकाउन्टमार्फत साहलाई पक्राउ गरेको हो ।
आरोपित साहलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । युवतीसँग कुरा गर्ने युवकले भने ठगी गरेको कुनै प्रमाण नभएपछि उनीमाथि मुद्दा चल्न नसकेको कार्यालयले जनाएको छ ।
यस घटनाबारे जानकारी दिँदै कार्यालयका साइबर पिल्लर प्रमुख एवं प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले डिजिटल युगमा हरेक समय सजग हुन सुझाव दिएका छन् ।
“भेट्न बोलाउँदैमा पूर्ण विश्वास गर्नुपर्छ भन्ने हुँदैन,” उनले भने, “त्यसमा पनि डिजिटल डिभाइसमा धेरै संवेदनशील डेटा हुने भएकाले त्यसको बढी ख्याल गर्नुपर्छ । डिभाइस सुरक्षित राख्न पिन, पासवर्ड तथा प्याटर्न राख्नुपर्छ ।” ।” भेट्न जाने कुरामा मात्र नभइ कसैलाई आफ्नो डिभाइस दिँदा पनि ख्याल गर्नुपर्ने उनले बताए ।
Discussion about this post