जयकृष्ण यादव /इनरुवा । जिल्लाको सीमावर्ती हरिनगर गाउँपालिकाका किसानहरुलाई धान खेती सहित कृषिमा यान्त्रिकिकरण गर्नका लागि विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ । सिंचाई अभावमा अकाशे भरमा खेती गरिरहेका किसानलाई पम्पसेट, मोटर र बोरिगं सहित विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको हो । सोमबार हरिनगर गाउँपालिका ५ स्थित बसन्तपुरको मेहता बस्तीका किसानहरूलाई चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख लक्ष्मी महतोले जानकारी दिनुभयो । महतोका अनुसार विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान पकेट कार्यक्रममा आवद्ध भएका २५ जना किसानलाई एक साथ विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको जनाएको छ । हरिनगर कृषि शाखाले दिएको जानकारी अनुसार धान पकेट सञ्चालक समितिमा आवद्ध भएका किसान मध्ये सात जनालाई बोरिगं गडाई सहित पम्प सेट, ६ जना किसानलाई मोटर , १४ जनालाई पावर स्पेयर , ६ जना डिजिटल काटा , दुई जनालाई ड्रम सिट प्याड, एक जनालाई ब्रस कटर , आठ जनालाई अनाज सुकाउने त्रिपाल, एक हजार ५० केजी धानको विउँ, ३०० केजी जिंक, किटनाशक ८ लिटर, ५०० केजी कृषि चुन वितरण गरेको छ । दुई वर्ष अघि स्थापना भएको विभिन्न समूह र कृषिमा आवद्ध धान किसानलाई समावेस गरि समिति बनाएको थियो । सामूहिक धान खेती प्रवर्धन गर्ने गरि स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा कृषि औजार दिएको छ ।
कृषि औजार तथा उपकरण हस्तान्तरण कार्यक्रममा हरिनगरका अध्यक्ष गफार अंसारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, गाउँपालिका कृषि शाखा प्रमुख लक्ष्मी महतो, प्राविधिक भुवनेश्वर यादव, सुवन कुमार चौधरी, राधेश्याम पंडित, संचालक समितिका अध्यक्ष कदमलाल मेहता र रामेश्वर मेहता सहितको उपस्थिती रहेको थियो । गाउँपालिका कृषि शाखाको पहलमा गाउँमा किसानलाई ५० प्रतिशत अनुदानमा रिपर, मिनि टेलर,पम्पसेट, मोटर र बोरिगं सहित विभिन्न कृषि औजार तथा उपकरण हस्तान्तरण गर्दा किसान किनै खुसी भएको स्थानीय रविन्द्र मेहताले बताउनुभयो ।
Discussion about this post