इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका र सो पालिकाभित्र प्रवेश गर्ने नाका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
धरानमा मात्र १५ हजार जनामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण फैलिएको र १२ जनाको मृत्युसमेत भइसकेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी निषेधाज्ञा आदेशमा सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते (आज) मध्यराति १२ बजेदेखि भदौ ९ गते (भोलि) मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा मात्र निषेधाज्ञा जारी भएको क्षेत्रमा हिँडडुल गर्न सकिनेछ । निषेधाज्ञा अवधिमा सामाजिक, राजनीतिक तथा धार्मिक सभा, र्याली, भेला तथा प्रदर्शन गर्न नपाइने पनि प्रशासनले प्रष्ट पारेको छ । धरानमा केही दिनअघि गैरहिन्दु समुदायका मानिसहरूले सार्वजनिक स्थानमा गोरु काटेर भोज आयोजना गरेपछि त्यसको प्रतिवादस्वरुप हिन्दु पक्षले भोलि भदौ ९ गते बृहत् गोरक्षा र्याली आयोजन गर्ने तयारी गरेको थियो ।
सोही र्यालीका कारण अप्रिय घटना हुनसक्ने सम्भावनालाई टार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैबीच, आजै जिल्ला प्रशासन कार्यालयमा बसेको धरानमा क्रियाशील राजनीतिक दलहरूको संयुक्त बैठकले धार्मिक सद्भाव नबिथोलियोस् भन्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित वातावरण सहज बनाइदिन प्रशासनलाई अनुरोध गरेको थियो ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै सबै जाति, धर्म, समुदायले एकापसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौँ,’ सर्वदलीय बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । साथै, परिस्थितिको गाम्भीर्यलाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सद्भाव खल्बलिने सामग्रीहरू पोस्ट, सेयर तथा कमेन्ट नगर्नसमेत विज्ञप्तिमा अपिल गरिएको छ ।
Discussion about this post