इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिइएको छ ।
हिजाे बुधबार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सूचना प्रकाशित गरि आज बिहीबार र भाेली शुक्रबार स्थानीय बिदा दिइएको हाे ।
अध्यक्ष अजमल अख्तरले भोक्राहा नरसिंह गाउँपालिकाको मिति २०८०/०६/१० गते निर्णयानुसार आज ११ गते बिहीवार इस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे व सल्लमको १४९८ औं जन्म जयन्ती तथा हिन्दु धर्मावलम्बीहरुको अनन्त चतुर्दशी पर्वकाे अवसरमा बिदा दिइएको जनाएको छ ।
इस्लाम धर्मको अन्तिम पैगम्बर(अल्लाह दुत्त) को रूपमा हजरत मोहम्मदको जन्म इसापूर्व ५७१,२० अप्रिल अर्थात् इस्लामिक तिथिअनुसार १२ रविउल्ल औएलका दिन खाडी मुलुक सउदीको मक्कामा भएको थियो। सोही दिनकै स्मरणमा विश्वभरका मुस्लिम समुदायले प्रत्येक वर्ष सो दिनलाई उत्वसवको रूपमा मनाउँदै आएकाले मधेस प्रदेश सरकार सँगै काेशी प्रदेशका केही पालिकाहरूमा समेत स्थानीय बिदा दिने प्रचलन छन् ।आजकै दिन अनन्त चतुर्दशी पर्व पनि परेको कारण दुईवटै पर्व हर्षाैलासका साथ मनाउन बिदा दिइएको हाे ।
उता भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापुर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ। भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरुले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरु जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउदै थिए। त्यसबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापुर्वक व्रत बस्न आग्रह गरेका थिए। भगवान श्रीकृष्णको सल्लाह मान्दै पाच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए।
साेही अवसरमा श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात जनैपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्र नपाएकाले आजै मन्त्रने गरेका छन्। आज हिन्दु धर्मावलम्बीहरूले चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसरी बाधिने धागोलाई “अनन्त सूत्र” भनिने गरिन्छ। यस सुत्रमा हुने चौधवोटा गाठोलाई चौधवोटा लोकको प्रतिक मानिन्छ। यो सुत्र पुरुषहरुले दाहिने हातमा बाध्ने गरेका छन् भने महिलाहरुले यसलाई बाया हातमा बाध्ने गर्दछन्। हिन्दु धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ।
त्यस्तै भाेली १२ गते शुक्रबार उराँव समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व कर्माधर्मा पर्व परेको हुदाँ साे अवसरमा पनि पालिका अध्यक्ष अजमल अख्तर आजादले भाेली शुक्रबार स्थानीय बिदा दिइएको हाे ।
आज बिहीबार र शुक्रबार २ (दुई) दिन भाेक्राहा नरसिंह गाउँपालिकाकाे कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरुमा (अत्यावश्यक सेवा बाहेक) स्थानीय विदा दिइएकाे अध्यक्ष अजमल अख्तर आजादले प्रकाशित गरिएको सूचनामा उल्लेख गरिएको छ ।त्यसैगरी हिजो बुधबार सुनसरीको काेशी गाउँपालिका कार्यालयले पनि दुई दिन स्थानीय विदा दिइएको छ ।
Discussion about this post