इनरुवा /सुनसरीको १२ वटा स्थानीय तहका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले स्थापित इनरुवा अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई थप विस्तार गर्दै सेवाग्राहीलाई थप सहज बनाएको छ ।
अस्पतालकी मेसु डाक्टर श्रेया पंगेनीका अनुसार इनरुवा र वरपरका क्षेत्रका महिलामा देखिएको समस्याहरु समाधानका लागि गाउँगाउँमा गई सेवा दिने सुरुवात गरिएको हो ।
हाल परिवर्तित नाम जिल्ला अस्पताल इनरुवा सुनसरीको सेवा विस्तारमा निरन्तर लागिरहेकी मेसु पंगेनीले विगतभन्दा थप सेवासुविधा विस्तार गरिएको जानकारी दिइन् । उनले इनरुवा अस्पतालको सेवाअन्तर्गत पर्ने क्षेत्रहरुमा गाउँगाउँ पुगी सेवाग्राहीलाई सेवा दिने कार्यको थालनी भएको जानकारी गराइन् । सुनसरीको ग्रामीण क्षेत्रमा महिलाहरुमा देखिएका समस्याहरु समाधानका निम्ति अहिले एक फरक कार्यक्रम लिएर आफ्नो टोली गाउँगाउँ पुगिरहेको उनले बताइन् ।
एक दिन अघिमात्र सुनसरीको कोसी गाउँपालिकाअन्तर्गतको कुमयाहीमा प्रसूतीसँग सम्बन्धित महिलाहरुको समूहलाई लक्षित गरी कार्यक्रमसमेत सम्पन्न गरिएको छ । यो कार्यक्रम आवश्यक विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा निरन्तर सञ्चालन हुने मेसु पंगेनीले जानकारी दिइन् ।
इनरुवा अस्पतालको उक्त कार्यक्रमले कोसी गाउँपालिका क्षेत्रमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र आफ्नो गाउँपालिकामा महिलाहरुको समस्या समाधानका लागि भूमिका निर्वाह गरेकोप्रति कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले इनरुवा अस्पताल र मेसु पंगेनीलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।
यता मेसु पंगेनीले आवश्यक हरेक क्षेत्रमा इनरुवा अस्पताल सेवा दिन सक्षम रहेकाले आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
उनले हाल इनरुवा अस्पतालमा विगतको भन्दा थप सेवासुविधा थपिएका कारण सेवाग्राहीहरु सन्तुष्ट रहेकोसमेत बताइन् ।
हाल विगतमा नहुने गरेका सेवाहरु आफू आएपश्चात व्यवस्थापन गर्दै सेवाग्राहीलाई इनरुवाबाट बाहिर गई सेवा लिने झन्झटबाट मुक्त गराएको उनको कथन छ । विगतमा नरहेको सेवाहरु युरिन कल्चर र पस कल्चर सँगै डेन्टल सेवामा थप सेवा विस्तार र भिडिओ एक्सरेको सेवामा समेत थप समयावधि थपी सेवाग्राहीलाई सेवा सेवा दिने कार्य प्रारम्भ भएको उनले बताइन् ।
बिमाको औषधि वितरण व्यवस्थापनसमेत एक साताभित्र गरिने बताउँदै मेसु पंगेनीले विगतको तुलनामा अस्पतालको सेवाले फड्को मारेकै कारण नेपाल सरकारको न्यूनतम सेवा मापदण्डको सूचीमा इनरुवा अस्पतालले ७९ प्रतिशत अंक ल्याउन सफल भएको उनले बताइन् । गतवर्ष इनरुवा अस्पतालले सरकारको मापदण्डमा ७० प्रतिशतमात्र अंक ल्याउन सफल भएको थियो ।
सेवा विस्तारको क्रममा चाँडै बालरोग विषेषज्ञको सेवासमेत इनरुवा अस्पतालबाट उपलब्ध गराइने बताउँदै मेसु पंगेनीले आफ्नो कार्यमा सबै सरोकारवालाहरुलाई साथ सहयोग र सुझावका लागि अनुरोध गर्दै अस्पताललाई बदनाम गराउन सक्रिय रहेको गिरोहका पछि नलाग्नसमेत आग्रह गरिन् ।
Discussion about this post