काठमाडौं । दीर्घनारायण कोइरालाले सरकारी जागिर रहँदाको ३२ वर्षमा अनियमितता गरी १ करोड २५ लाख ९६ हजार ३ सय ५३ रुपियाँ आम्दानी गरेको पाइएको छ।
जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत कोइरालाले पदको दुरुपयोग गरी सो रकम कमाएका हुन्। २०४६ जेठ २ गते सरकारी सेवामा प्रवेश गरेका कोइराला २०७८ फागुन १२ सम्ममा जागिरे हुनुहुन्थ्यो।
अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले गरेको छानबिनका क्रममा सो तथ्य खुलेको हो।कोइरालाको जीवनशैली अस्वाभाविक, पदको हैसियतअनुसार अमिल्दो भएको आशंका गरी अख्तियारमा उजुरी परेको थियो।
उजुरी परेको महिनौंदिनपछि आयोगले छानबिन गरेर सो स्थिति पाइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो। सहायक प्रवक्ता थपलियाका अनुसार कोइरालाले जागिर अवधिको आम्दानी तथा खर्चको विवरण केलाउँदा १ करोड २५ लाख ९६ हजार ३ सय ५३ रुपियाँ बढी देखिएको आयोगको अनुसन्धानले देखाएको छ।
कोइरालाले कमाएको सो पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्र्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ। जागिरे अवधिमा कमाएको र खर्चको गरेको बीच तारतम्यता नदेखिएपछि आयोगको प्रारम्भिक अनुसन्धानले देखाएपछि मुद्दा दायर गरेको प्रवक्ता घिमिरेको भनाइ छ।
आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घरजग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, सेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार ९ सय ९६ रुपियाँ ३१ पैसा कमाएको देखिन्छ।
सोही अवधिमा उनको व्यय ९खर्च तथा लगानी० तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैंक मौज्दातसमेत गरी जम्मा २ करोड ७ लाख ८३ हजार ३ सय ४९ रुपियाँ ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानले देखाएको छ।
वैध आम्दानीको अनुपातमा कोइरालाले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी २ करोड ७ लाख ८३ हजार ३ सय ४९ रुपियाँ ८५ पैसा देखिएपछि आयभन्दा बढी रकमको स्रोत नखुलेको आयोगको अनुसन्धानले देखाएको छ।
Discussion about this post