राजविराज — राजविराज नगरपालिकामा वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङको आवासमा मंगलबार दिउँसो लगाएको ताला राति ८ बजे खोलिएको छ । स्थानीय प्रशासन र स्थानीय युवाहरुको पहलपछि प्रशासकीय अधिकृत गुरुङको आवासमा लगाइएको ताला जनप्रतिनिधिहरुले खोलेका हुन् ।
नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष जयनारायण मण्डलसहित वडाध्यक्षहरु शशी चौधरी, सुभाष यादव, अनिलकुमार दास, रामचन्द्र यादव सहितको टोलीले मंगलबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्ष र आवासमा ताला लगाएको थियो ।
नगरपालिकाको कार्यपालिका बैठकले गुरुङलाई मंगलबारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको थियो । कर्मचारीभन्दा राजनीति गर्न खोजेको, कार्यालयको काम नगरेको आरोपसहित नगर कार्यपालिकाले उनलाई पत्र थमाउदै मन्त्रालय फिर्ता पठाएको हो ।
कार्यपालिका बैठकको निर्णयविपरीत जनप्रतिनिधिलाई धम्क्याउन थालेपछि कार्यकक्ष र आवासमा तालाबन्दी गरेको नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डलले जनाए । कार्यपालिका बैठकको निर्णय गरी मन्त्रालय पठाउने कार्य गैरकानुनी भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरुङले अदालत जाने बताएपछि जनप्रतिनिधिहरुले कार्यपालिकाको निर्णय नमानेको भन्दै उनको कार्यकक्ष र आवासमा तालाबन्दी गरेका हुन् ।
आफूलाई फिर्ता पठाउने कार्यपालिकाको निर्णय वैधानिक नभएको भन्दै गुरुङले आफू अदालत जाने बताएका छन् ।
Discussion about this post