खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियम विपरीत कार्य गर्ने विश्वज्यति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारबाहीमा परेका छन् । उनले नियम विपरीत परीक्षार्थीलाई सहभागी गराएकाले केन्द्र अध्यक्षबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख नन्द बहादुर विश्वकर्माले बताए।
केन्द्र अध्यक्ष तथा विश्वज्यति मावि लामिडाँडाका प्रधानाध्यापक ठाकुरले एक जना परीक्षार्थी बिरामी भएर अस्पतालमा भएकाले सट्टामा अर्को व्यक्तिलाई परीक्षामा सहभागी गराएका थिए । माध्यमिक शिक्षा परीक्षा सञ्चालन सम्बन्धी ऐन २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको सट्टामा मात्र अर्को व्यक्ति राख्न पाइने नियम छ । तर, नियम विपरीत अस्पतालमा भएको भन्दै सट्टा परीक्षार्थी राखिएकाले ठाकुरलाई केन्द्र अध्यक्षबाट हटाइएको बताइएको छ ।
ठाकुरलाई हटाएर सहायक प्रधानाध्यापक दीपेन्द्र यादवलाई परीक्षा केन्द्र अध्यक्ष तोकिएको इकाई प्रमुख तथा जिल्ला परीक्षा सञ्चालन समिति खोटाङका सदस्य सचिव विश्वकर्माले बताए । “अस्पतालमा भएको विद्यार्थीको सट्टामा अन्य व्यक्तिलाई परीक्षामा राख्नु पर्यो भन्दै केही समय अघि मात्र हामीलाई जानकारी गराएको थियो । हामीले हुँदैन नराख्नु, सँगै भएको भए हुन्थ्यो, तर परीक्षा हलमै उपस्थित नभएको व्यक्तिको सट्टामा अन्य व्यक्तिले परीक्षा दिन नियमले दिँदैन भन्यौ”, विश्वकर्माले भने, “तर उनले राखेको भन्ने जानकारी आयो, त्यसपछि तत्काल परीक्षा सञ्चालन समितिको बैठक बसेर केन्द्र अध्यक्ष हटाएका हौँ ।’
तत्कालका लागि केन्द्र अध्यक्षबाट हटाइएको र थप अनुसन्धान हुने प्रमुख जिल्ला अधिकारी एवम् परीक्षा सञ्चालन समितिका प्रमुख शिव कुमार कार्कीले बताए । “उनले नियम विपरीत गएकाले हटाएका छौँ, तत्काललाई यो ठुलो कारबाही हो,” सिडिओ कार्कीले भने, “भोली उक्त परीक्षा केन्द्रमा जाँदै छौँ, यस विषयमा थप अनुसन्धान हुन्छ ।”
रावा बेसी गाउँपालिका–३ लामिडाँडास्थित विश्वज्योति मावि परीक्षा केन्द्र रहेका शारदा मावि खार्पाका एक जना विद्यार्थी केही दिन अघिदेखि बिरामी परेका बुझिएको छ । केही दिन अघिबाट बिरामी भएर अस्पतालमा भएकाले उनको सट्टामा ९ कक्षामा अध्ययनरत एक जना विद्यार्थीलाई परीक्षा दिन लगाइएको देखिएको लामिडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताए । “नियमित विद्यालय आउने विद्यार्थी परीक्षा सुरु हुने बेला बिरामी परेछन्, परीक्षा दिनै नसक्ने अवस्था भएपछि ९ कक्षामा पढ्ने अर्को विद्यार्थीलाई परीक्षा दिन लगाइएको रहेछ,” वडाध्यक्ष मगरले भने, “तर नियम विपरीत भएको भन्दै परीक्षा केन्द्र अध्यक्ष परिवर्तन गरिएको देखियो ।”
बिहीबारबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङबाट नियमित २ हजार ८५६ जना विद्यार्थीले परीक्षा दिएका छन् । ४१ जना विद्यार्थी परीक्षामा उपस्थित भएनन् । उपस्थित नहुनेमा ३४ जना छात्रा र ७ जना छात्र छन् ।
यस्तै, परीक्षाका लागि २४ वटा परीक्षा केन्द्र तोकिएको छ । एक सय वटा सामुदायिक र ४ वटा संस्थागत गरी १०४ वटा माध्यमिक विद्यालयबाट परीक्षार्थी सहभागी छन् । जिल्लाभर सबैभन्दा धेरै सरस्वती मावि दिक्तेलबाट १८० जना र सबैभन्दा कम शान्तोदय मावि ज्यामिरे सल्लेबाट ४ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन् ।
Discussion about this post