इनरुवा । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न दुई विद्यालय भवन उद्घाटन गरिएको छ । सुनसरीको इनरुवा र रामधुनीमा निर्माण सम्पन्न भवन औपचारिक कार्यक्रमका बिच उद्घाटन सँगै हस्तान्तरण समेत गरिएको छ ।
६ करोड लागतमा निर्माण सम्पन्न दुई विद्यालय भवन जिल्ला समन्वय समिति सुनसरीको अगुवाईमा आयोजित औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
नेपालकालागि भारतीय दुतावासका प्रथम सचिव सुमन शेखरको उपस्थितिमा उक्त भवनहरु हस्तान्तरण गरिएको छ ।
दुतावासका सचिव सुमन शेखर र जिसस सुनसरी सभापति राजन मेहताले भगवती मा.वि.र रामधुनीको भासी मा.वि.को भवन सम्बन्धित विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन । उत्तः कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय दुतावासका प्रथम सचिव शेखरले शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल र नेपालीकालागि भारत सरकारले थुप्रै योजनामा सहयोग गर्दै आएको बताए । उनले थप सहयोगको पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा जिसस सुनसरी सभापति राजन मेहताले नेपाल र भारत बिचको सुमधुर सम्बन्धलाई दुई देशीय सहयोगले थप प्रगाढ बनाएको धारणा राखे । मेहताले समन्वय प्रमुखका हिसाबले समग्र जिल्लाको बिकासमा दुतावासको सहयोग जुटाउन आफु हरसम्भव प्रयासरत रहेको बताए । उनले भारतीय दुतावासबाट सुनसरीको हकमा छिट्टै अन्य सहयोग प्याकेजहरु आउनेमा समेत आफु विश्वस्त रहेको बताए ।
इनरुवा र रामधुनीमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न दुवै विद्यालय भवन आधुनिक शैलीका रहेका छन । दुवै विद्यालय भवन निर्माणमा समान ३–३ करोड खर्च भएको उद्घाटन कार्यक्रममा सहभागी दुतावासका कर्मचारीले बताएका छन ।
इनरुवा र रामधुनीका दुवै विद्यालय भवनको निर्माण भने निकै वर्ष अगाडी सम्पन्न भैसकेको थियो । यद्यपि, निर्माण सम्पन्न भै संचालनमा आएतापनि उक्त दुवै विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण भने लामो समय सम्म हुन सकेको थिएन ।
Discussion about this post