इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८१/८२ कालागि ७७ करोड ३५ लाख ९७ हजारको बजेट पेश गरेको छ ।
सोमबार सुरु भएको १३ औं नगरसभामा उपमेयर विनिताकुमारी मेहताले आगामि वर्षको लागि पालिकाको नीति तथा कार्यक्रमसहित आयब्ययको अनुमान पेश गरेकी हुन् ।
नगरपालिकाले आगामि आर्थिक वर्षमा संघीय समानिकरण अनुानबाट १७ करोड २४ लाख, संघीय शसर्त अनुदानबाट ३० करोड ५२ लाख, संघीय समपुरक अनुदानबाट ६५ लाख, प्रदेश समानिकरण अनुदानबाट एक करोड १० लाख छ हजार, प्रदेश समपुरक अनुदानबाट एक करोड ३० लाख, प्रदेश शसर्त अनुदानबाट दुई करोड तीन लाख, संघीय राजस्व बाँडफाँडबाट १२ करोड ९७ लाख, प्रदेश राजस्व बाँडफाँड(सवारी कर) बाट ८८ लाख २६ हजार, मालपोत रजिष्ट्रेशन शुल्क र अन्य राजस्वसहितको आन्तरिक स्रोतबाट १० करोड ६६ लाख ६५ हजार गरी ७७ करोड ३५ लाख ९७ हजार प्राप्त हुने अनुमान गरेको छ ।
सभामा पेश नीति तथा कार्यक्रममा नगरको भौतिक पूर्वाधार विकासको लागि १७ करोड १४ लाख ३८ हजार आठसय रुपैया विनियोजन गरिएको छ जसमध्ये वडाको भौतिक पूर्वाधार निर्माणमा नौ करोड रुपैया विनियोजन गरिएको छ ।
त्यस्तै जनतासँग नगरप्रमुख र उपप्रमुख नामको नयाँ कार्यक्रम बजेटमा प्रस्ताव गरिएको छ । नगर क्षेत्रमा बन्ने भवनमा प्रत्येक भवन निर्माण गर्दा आगलागीबाट बच्ने प्रविधि जडान र दुई वटा विरुवा रोपेपछि मात्रै सम्पन्नताको प्रमाणपत्र दिने नीति नगरपालिकाले लिएको छ ।
त्यसैगरी फोहोर ब्यवस्थापनमा सार्वजनिक निजी साझेदारीको मोडलमा अगाडि बढाउने, जिल्ला अस्पतालमा मर्चरी निर्माण गर्ने, खुल्ला प्रतिष्पर्घाबाट नगरका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियूक्त गर्ने, ११ कक्षामा विज्ञान विषयको पठनपाठन सुरु गराउने, भोलेन्टीयर शिक्षक प्रयोग गरी गरीब र विपन्न बालवालिकालाई ट्यूसन पढाउने, विपन्नलाई दिइने आर्थिक सहयोगलाई स्वास्थ्य विमा गर्नेतर्फ रुपान्तरण गर्ने, २०८३ सम्म बालमैत्री नगर घोषणा गर्ने, युवाहरुको लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने, दलित र विपन्न नागरिकको मृत्यूमा १० हजार रुपैया उपलब्ध गराउने, इनरुवा रंगशालालाई ब्यवस्थित गरेर खेल सञ्चालन गर्ने, बबियामा भेटनरी अस्पताल सञ्चालन गर्ने, खोलाको सफाइका लागि अभियन्ताहरुसँग साझेदारी गर्ने, सार्वजनिक जग्गा पहिचान गरी बर्षमा एक हजार फलफूलका विरुवा रोप्ने, अतिक्रमित जग्गा संरक्षण गर्ने, सबै वडाका चोकमा सीसीटीभी क्यामेरा जडान गर्ने जस्ता कार्यक्रमहरु नगरपालिकाले अगाडि बढाएको छ ।
सो अवसरमा चालु आर्थिक वर्षसम्म नगरभरीमा ४.६ किलोमिटर कालोपत्रे सडक निर्माण भएको, ७.५ किलोमिट ग्राभेल, १.१ किलोमिटर इन्टरलक टायल बाटो निर्माण भएको, ५.४ किलोमिटर पक्की ढलनाला निर्माण भएको, वडा नम्बर २ वडा भवन, गुद्री बजार ट्रष्ट निर्माण, दुई वटा झोलुङ्गे पुल निर्माण भएको जानकारी दिएएको थियो ।
मेयर केदार भण्डारीले उद्घाटन गरेको नगरसभा नीति तथा कार्यक्रम पेश भएपछि आगामि २२ गते पुनः सभा बस्ने गरी स्थागित गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज निरौलाले जानकारी दिए ।
Discussion about this post