माेहतरी । मधेस प्रदेश स्थित माेहतरी मटिहानी नगरपालिकास्थित लक्ष्मी सागरमा शनिबार लक्ष्मी नारायण भगवानको साप्ताहिक सन्ध्या आरतीको चौथो वार्षिकोत्सव मनाइँदैछ। शुक्रबार नगरप्रमुख हरिप्रसाद मण्डलको अगुवाइमा नगरपालिकाका कर्मचारीसँगै स्थानीय युवाहरु सरसफाइमा शुक्रबार व्यस्त देखिए । यो व्यवस्ता भने यहि आयोजनाको लागि नभई लक्ष्मी सागरमा हुने गरेको साप्ताहिक आरती र विशेष पुजाआजाको अवसरमा नियमित रुपमा देखिने गरिएको छ ।
झट्ट सुन्दा यो सामान्य कुरा भएपनि मटिहानी निवासी हिन्दु र मुस्लिम दुवै समुदायका युवाहरुले यसलाई विशेष बनाइदिएका छन् । उनीहरु मटिहानीस्थित दुवै धर्मका स्थलहरुमा सामुहिक सरसफाई गर्दै धार्मिक सहिष्णुताको अनुकरणीय उदाहरण प्रस्तुत गर्दैछन् ।
मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डल भन्छन,‘हाम्रो मटिहानीमा हिन्दु वा मुस्लिम जुनसुकै धर्मको धार्मिक कार्य हुँदा दुवै धर्मका युवाहरु एकअर्काको सहयोगमा तत्पर रहन्छन् । यहाँ युवाको ध्येय हिन्दु वा मुस्लिम जुनसुकै धर्मको अनुष्ठान कसरी सफल हुने भन्ने मात्र हुन्छ । म हिन्दु छु म कसरी मजारमा गएर सरसफाई गरुँ वा म मुस्लिम छु म कसरी साप्ताहिक आरती स्थलमा गएर सरसफाइमा सहभागि होऊँ भन्ने माहोल छैन ।’ उनी थप्छन,‘हरेक वर्ष हुने दुर्गा विसर्जनमा मटिहानीका सवै नागरिक माता दुर्गाको प्रतिमा नगरपरिक्रमा गर्दा नतमस्तक हुन्छन् । मटिहानीमा मुस्लिम परिवारले दुर्गा विसर्जनको बेला आफ्नो आँगन अगाडि प्रतिमाको स्वागत गर्छन् । हामी पिर बाबा र तस्मैया बाबाको समयदेखि सवै नगरबासी एउटै परिवार छौ ।’
मटिहानी नगरपालिकाका कर्मचारीसमेत रहेका मोहम्मद इसराफिल राइन भन्छन, ‘मैले मटिहानीमा धर्मकै कारण लडाइँ देखेको छैन । यहाँका सवै धार्मिक तथा सामाजिक कार्यमा हामी सवै युवाको समान सहभागिता हुन्छ।’
Discussion about this post