दिपेन्द्र यादव/इनरुवा: सुनसरीको इनरुवा ९ बबियाबाट सशस्त्र प्रहरी बलले १ सय १५ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
बबिया चोकमा चेकजाँच गरिएको प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लुकाइएको गाँजा फेला परेको थियो। उक्त गाडीमा सवार धनकुटा सांघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षीय बुद्ध लिम्बुलाई पनि नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गणका अनुसार भारतीय सीमा तर्फ लैजाने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
बरामद गाँजा, गाडी, र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको छ। यस घटनाले सुनसरी जिल्लामा लागू औषध तस्करीको समस्या गम्भीर बन्दै गएको छ।
यसैगरी, देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ६ किलो गाँजा र भोक्राहा नरसिंह ८ बाट साइकलसहित ६ किलो गाँजा पनि सशस्त्र प्रहरी नम्बर ४ गण हेड क्वाटर सुनसरीले बरामद गरेको छ। पछिल्लो समय चेकजाँच र निगरानी बढाइएसँगै गाँजा लगायतका तस्करीका सामानहरू बरामद हुने क्रम बढेको छ।
सुनसरी जिल्ला हालसालै लागू औषध तस्करीको केन्द्र बन्दै गएको छ। सशस्त्र प्रहरी बलले तस्करी रोकथामका लागि चेकजाँच र निगरानीमा थप कडाइ गरेको छ। तर, तस्करीको गतिविधि निरन्तर जारी रहँदा यसलाई रोक्नको लागि सरकार, स्थानीय प्रशासन र समुदायको समन्वय र सहकार्य आवश्यक देखिन्छ।
लागू औषध तस्करी नियन्त्रणका लागि स्थानीय तहले पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै, स्थानिय जनतामा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ। साथै, तस्करीमा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको व्यवस्थापन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
सुनसरीको बबियामा भएको यो घटना लागू औषध तस्करी नियन्त्रणको लागि एक महत्वपूर्ण कदम हो, तर यो समस्या समाधानका लागि निरन्तर प्रयास आवश्यक छ।
Discussion about this post