सुनसरी । ३० औं विश्व आदिवासी दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले अल्पसंख्यक उराँव समुदायलाई सांस्कृतिक बाजा ‘मानर डिगा’ वितरण गरेको छ। गाउँपालिकाले विभिन्न २४ वटा टोलीलाई मानर डिगा (बाजा) वितरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले भने, “उराँव समुदायको सांस्कृतिक पहिचान र त्यसको संरक्षण र प्रवर्धनका लागि यस कार्यक्रम आयोजना गरिएको हो।” उनले उराव समुदायको ऐतिहासिक पृष्ठभूमि र उनीहरूको परम्परालाई सम्झाउँदै, “उराव समुदाय तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको आदिबासी जाति हो र यस समुदायका मानिसहरू शिक्षा, स्वास्थ्य र आर्थिक दृष्टिले पिछडिएका छन्।”
नेपालको जनगणना २०७८ अनुसार सुनसरी जिल्लामा उराव समुदायको जनसंख्या ४० हजारको हाराहारीमा रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य सूर्यदेव दास उराँवले ‘मानर डिगा’ वितरणले उराव समुदायको सांस्कृतिक पहिचानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले यसलाई “उराव समुदायको समृद्धि र पहिचानको एक महत्वपूर्ण उपकरण” को रूपमा व्याख्या गरे। विशिष्ट अतिथि भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता उराँव र कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले पनि यस पहललाई सराहना गर्दै, उराव समुदायका सांस्कृतिक धरोहरलाई जोगाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले पनि कार्यक्रमको महत्वलाई उजागर गर्दै, “यस अवसरले उराव समुदायको सांस्कृतिक धरोहरलाई जोगाउन र प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ,” भनेका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कार्यपालिका सदस्य र पत्रकारहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले उराव समुदायको सांस्कृतिक पहिचानको संरक्षणमा योगदान दिने विश्वास व्यक्त गरिएको छ।
Discussion about this post