इनरुवा । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले बाँदर नियन्त्रणको अभियानलाई तिव्रता दिएको छ। देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका स्थानीयबासिन्दा बाँदरको उपद्रोले आजित भएपछि गाउँपालिकाले यो अभियान सुरु गरेको हो।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार, “दशकयता बाँदरले किसानले लगाएको बालीमा क्षति गर्ने, बाटोमा हिँड्ने सर्वसाधारणलाई दुःख दिने समस्या बढेपछि बाँदर नियन्त्रणको आवश्यकता महसुस भयो। यसका लागि चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर बाँदर नियन्त्रण अभियान थालिएको हो।”
गाउँपालिकाले जनाए अनुसार, सीमाबाट आउने बाँदरको समूहले देवानगञ्ज गाउँपालिकामा आतङ्क मच्चाएको छ। स्थानीय किसानहरूले बाँदर आतंकबाट आहत भएर गाउँपालिकालाई गुहारेपछि प्राविधिक टोली नै परिचालन गरिएको हो। बाँदरले खेतबारीमा लगाइएको बालीनाली मात्र होइन, भान्सा कोठाका खानेकुरा समेत नष्ट गर्ने र मानिसहरूमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्।
प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले यस समस्याको गम्भीरता देखेर बाँदर नियन्त्रण अभियानलाई प्राथमिकतामा राखिएको बताए। उनले भने, “कप्तानगञ्ज पाचोसिम्बर क्षेत्रमा दुई सयको संख्यामा बाँदरहरू स्थायी रूपमा बसोबास गर्न थालेका छन्, जसले गर्दा स्थानीयहरूलाई ठूलो सास्ती भएको छ। बाँदरहरूले सागसब्जी, तरकारी, र अन्नबाली खाने मात्र होइन, मानिसहरूलाई आक्रमण गरेर घाइते बनाउने गरेको छ। हामीले बाँदर नियन्त्रणका लागि विशेष प्राविधिक टोली खटाएका छौं र यो समस्या समाधान गर्न गाउँपालिका प्रतिबद्ध छ।”
यता यो अभियानले बाँदर आतंकबाट पीडित किसानहरूलाई राहत दिने अपेक्षा गरिएको छ।
Discussion about this post