बिराटनगर । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट कोदो बिस्कुटको उत्पादन सुरु भएको छ। पूर्वी नेपालको प्रतिष्ठित उद्योगपति महेश जाजुले कोदो बिस्कुटको उत्पादनको अगुवाइ गरेका छन्। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारमा कोदोको बिस्कुट बिक्री गर्ने लक्ष्यका साथ जाजु अगाडि बढिरहेका छन्। उनी सञ्चालक रहेको एसियन बिस्कुट उद्योगले कोदोको पिठोबाट बिस्कुट उत्पादन थालिएको छ।
पश्चिम नेपालमा केही समयदेखि घरेलु र लघु उद्योगका सञ्चालकहरूले कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्दै आएका छन्। तर, सुनसरी-मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेको एसियन बिस्कुट उद्योगले राष्ट्रिय स्तरमा कोदोको पिठोबाट बिस्कुट उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना बनाएको छ।
कोदोको पिठोबाट उत्पादन गरिएको बिस्कुटलाई ‘गुडलाइफ कोदो डाइजेष्टिभ’ नाम दिइएको छ। बिस्कुटलाई सुगन्ध र बास्नादार बनाउन कोदोको पिठोमा अलैँची र दालचिनीको धुलो मिसाइएको छ। बिस्कुट उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरू—कोदो, अलैँची, र दालचिनी—सबै नेपाली उत्पादन हुन्, जसलाई उद्योगपति जाजुले प्रोत्साहन गरिरहेका छन्।
कोदोलाई पौष्टिक आहारको रूपमा मानिन्छ। पछिल्लो समय अस्वास्थ्यकर खानपानका कारण सुगर, प्रेसर जस्ता रोगहरूको समस्या बढ्दै गएको छ। स्वास्थ्यमा सजग रहन चाहने व्यक्तिहरूका लागि एसियन बिस्कुट उद्योगले उत्पादन गरेको ‘गुडलाइफ कोदो डाइजेष्टिभ’ बिस्कुट लाभदायक हुने उद्योगका सञ्चालक जाजुले बताएका छन्।
उनका अनुसार कोदो बिस्कुटको बारेमा नेपाल, भारत लगायत अन्तर्राष्ट्रिय बजारमा चासो र माग बढिरहेको छ। भारतमा बिस्कुटको नमुना पठाइसकिएको र निकट भविष्यमा भारतले ‘कोदो ब्रान्ड’ बिस्कुटको ठुलो अर्डर गर्ने अपेक्षा गरिएको छ। यस मागलाई ध्यानमा राख्दै बिस्कुट उत्पादन तीव्र पारिएको जाजुले जानकारी दिएका छन्।
Discussion about this post