दिपेन्द्र यादव/इनरुवा । तस्करीमा संलग्न रहेको आरोपमा सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका अन्तर्गतका दुई सशस्त्र प्रहरी इन्चार्जलाई सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालयले तानेको छ। सीमावर्ती क्षेत्रमा तस्करहरूलाई तस्करीमा सहयोग गरेको आरोप तथा गुनासोपछि उक्त कदम उठाइएको हो।
सशस्त्र प्रहरी बल बाेर्डर आउट पोस्ट (बीओपी) घुस्कीका सशस्त्र प्रहरी निरीक्षक जोसेफ अधिकारी र बाेर्डर आउट पोस्ट बस्तपुरका सशस्त्र प्रहरी निरीक्षक सुर्य धामलालाई कारवाहीका लागि जिम्मेवारीबाट हटाइएको छ। तस्करीको रोकथाममा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोपपछि उनीहरूलाई मुख्यालय तानिएको हो।
यसै क्रममा, सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालयले उनीहरूको स्थानमा नयाँ निरीक्षकहरूलाई खटाएको छ। बीओपी बसन्तपुरमा सशस्त्र प्रहरी निरीक्षक दिलिप बस्नेतलाई जिम्मेवारी दिइएको छ भने बीओपी घुस्कीमा सशस्त्र प्रहरी निरीक्षक विकास थापालाई जिम्मेवारी दिइएको छ।
मुख्यालयका अनुसार, सीमावर्ती क्षेत्रको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न तथा तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले नयाँ निरीक्षकहरूलाई खटाइएको हो। तस्करी नियन्त्रणमा कडा निगरानी र कारवाहीको आवश्यकता रहेको जनाउँदै मुख्यालयले थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ।
यस घटनाले सशस्त्र प्रहरी बलको आन्तरिक व्यवस्थापन र सीमा सुरक्षा नीतिमा थप सुदृढीकरणको आवश्यकता औंल्याएको छ। स्थानीय बासिन्दाहरूले तस्करीविरुद्ध कडा कदम चाल्ने माग गर्दै सुरक्षा व्यवस्थामा सुधारको आशा व्यक्त गरेका छन्।
Discussion about this post