दिपेन्द्र यादव / इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाले बुधबार नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ। गाउँपालिकाको सामाजिक र सांस्कृतिक गतिविधिमा विशेष महत्व राख्दै, यो कार्यक्रम गाउँका विभिन्न समुदायका महिला, नेता, र कर्मचारीहरूको व्यापक सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले गरिन्, भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद उपस्थित थिए। विशिष्ट अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरू, सामुदायिक विद्यालयका शिक्षकहरू, र पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष आकर्षण तीज पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई उजागर गर्ने विविध प्रस्तुति थियो, जसमा तीज गीतहरूमा आधारित नृत्यले प्रमुख स्थान पाएकाे थियोे । कार्यक्रममा महिलाहरूको उत्साहजनक सहभागिताले तीजको मर्म र सांस्कृतिक धरोहरलाई उजागर समेत गरिएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आफ्नो भनाइमा तीज पर्वले समाजमा महिलाहरूको महत्वपूर्ण भूमिका र स्थानलाई सम्मान गर्ने अवसर प्रदान गर्ने बताए। उनले भने, “यस पर्वले सामाजिक एकता, आपसी सद्भाव, र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। गाउँपालिकाले यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने र प्रोत्साहित गर्नेछ।”
त्यस्तै, विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले तीज पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै भने, “महिलाहरूको गाउँपालिकाको विकासमा पुर्याएको योगदान सधैं सराहनीय छ। तीज पर्वले उनीहरूको संघर्ष, शक्ति, र योगदानलाई सम्मान गर्दछ। हामीले यस पर्वलाई परम्परागत र सांस्कृतिक धरोहरको रूपमा मनाउनु पर्छ, जसले हाम्रो पहिचानलाई संरक्षण गर्छ।”
त्यस्तै कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले पनि आफ्नो मन्तव्य व्यक्त गर्दै भनिन्, “तीज पर्वमा महिलाहरूले आफ्ना जीवनका विविध अनुभवहरू र आशाहरूको अभिव्यक्ति गर्छन्। यो पर्व हाम्रो संस्कार र परम्पराको अभिन्न अंग हो। गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्छ।”
यता कार्यक्रमको अन्त्यमा सहभागीहरूले तीज पर्वको महत्त्वलाई झल्काउँदै तीज पर्वको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक महत्वलाई पनि गहिरो रूपमा अनुभूती गर्दै तीज गीतहरूमा आधारित नृत्य प्रस्तुत गर्दै सहभागीहरूलाई मनोरञ्जन समेत प्रदान गरिएको थियोे ।











Discussion about this post