इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका, वार्ड नं. ३ निवासी अति विपन्न दलित समुदायका जुडिलाल खत्बेको परिवारले आर्थिक अभावका कारण धर्म अनुसार क्रियाकर्म गर्न कठिनाइ भोगिरहेको अवस्थामा, गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले राहत सहयोग गरेका छन्। जुडिलाल खत्बेको पत्नीको असामयिक निधनपछि परिवारले आर्थिक अभावले गर्दा दाहसंस्कार र क्रियाकर्मको कार्य सम्पन्न गर्न नसकिरहेको अवस्था थियो।
उनलाई दुःखद घडीमा अध्यक्ष अजादले मानवीय भावनाको कदर गर्दै उक्त परिवारलाई दुई बोरा चामल, एक बोरा भुजा, पाँच लिटर तेल, चार लिटर फर्चुन, चुरा, दाल, गोटा चाना, नुन, बेसार, चिनी लगायतका सामग्रीहरू राहत स्वरूप प्रदान गरेका छन्। यस सहयोगले जुडिलालको परिवारलाई क्रियाकर्मको कार्य सम्पन्न गर्न सहयोग पुग्ने पिडित परिवारले जानकारी दिएको छ।
वार्ड नं. ३ का स्थानीय बासिन्दाहरूले अध्यक्ष अजादको यस सहयोगलाई उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गरेका छन्। साथै, भविष्यमा पनि गरिब, असहाय, र विपन्न परिवारलाई यस्तै सहयोगको अपेक्षा गरेका छन्।
अध्यक्ष अजमल अख्तर अजादले यस विषयमा भने, “गाउँपालिका जिम्मेवार संस्था हो र हामी यहाँका नागरिकहरूको समस्यामा सधैं साथ दिन तयार छौं। विपन्न र असहाय परिवारलाई सहयोग गर्नु हाम्रो दायित्व हो। यो राहतले जुडिलालको परिवारलाई केही राहत मिल्ने आशा गरेका छौं। हामीले यस्ता असहाय परिवारहरूको पीडालाई मनन गर्दै भविष्यमा पनि सक्दो सहयोग गर्न प्रतिबद्ध छौं।”
अध्यक्ष अजादले थपे, “हामी गाउँपालिकामा विशेष गरी अति बिपन्न र दलित समुदायका नागरिकहरूको समस्या समाधान गर्न केन्द्रित छौं। यस्ता चुनौतीपूर्ण परिस्थितिमा गाउँपालिकाले हात बाँधेर बस्नु हुँदैन। यस प्रकारको सहयोगबाट गाउँपालिकाले नागरिकहरूसँगको सम्बन्धलाई बलियो बनाउन पनि सक्दछ।”
अध्यक्ष अजादको यो मानवीय पहलले गरिब र असहाय परिवारहरूसँग गाउँपालिकाको सहानुभूति र उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।
Discussion about this post