दिपेन्द्र यादव /इनरुवा — संविधान दिवस २०८१ को अवसरमा सुनसरीको गढी गाउँपालिकामा विविध कार्यक्रमहरूको आयोजना गरी दिवस उल्लासमय रूपमा मनाइएको छ। गाउँपालिकाको प्रांगणमा नेपालको नक्सा बनाइएको थियो भने राष्ट्रिय झण्डा तौलन गरिएको थियो। यता साँझ गाउँपालिकामा मैनवती प्रज्वलन कार्यक्रम समेत राखिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले आफ्नो मन्तव्य राख्दै संविधान दिवसको ऐतिहासिक महत्त्वबारे प्रकाश पारे। उनले संविधानले ल्याएको राजनीतिक स्थिरता र समृद्धिको मार्गचित्रलाई सही रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। “संविधान हाम्रो पहिचान र भविष्यको मार्गदर्शन हो,” अध्यक्ष चौधरीले भने। “हामी सबै मिलेर यसलाई कार्यान्वयन गर्दै देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा अघि बढाउनुपर्नेछ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काले पनि आफ्नो मन्तव्य राख्दै संविधान दिवसको अवसरमा सम्पूर्ण गाउँपालिका वासिलाई शुभकामना व्यक्त गरे। उनले देशको संविधानले नागरिक अधिकार र कर्तव्यलाई सन्तुलित रूपमा स्थापित गरेको र स्थानीय तहले यसको पालनामा सक्रिय भूमिका खेल्नुपर्ने कुरामा जोड दिए। “गाउँपालिकाको विकास र जनताको सेवा हाम्रो मुख्य प्राथमिकता हो,” खड्काले भने। “संविधानले हामीलाई दिएको अधिकारलाई सही तरिकाले उपयोग गर्न हामी सबै एकजुट हुन आवश्यक छ।”
संविधान दिवसको अवसरमा आयोजित यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Discussion about this post