इनरूवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले हिन्दू धर्मावलम्बीहरूले मनाउने विशेष पर्व जितियाको अवसरमा स्थानीय सार्वजनिक बिदा घोषणा गरेको छ। गाउँपालिकाको २०८१ असोज ७ गते बसेको कार्यपालिका बैठकले जितिया पर्वकाे अवसरमा एकदिन स्थानीय बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले हिन्दू समुदायका लागि जितिया पर्वको ठूलो धार्मिक र सांस्कृतिक महत्व रहेको भन्दै, यस बिदा धार्मिक सहिष्णुता र सामाजिक एकतालाई सुदृढ पार्ने उद्देश्यले दिइएको बताए ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार, भाेली असोज ९ गतेका दिन गाउँपालिका कार्यालय, सबै वडा कार्यालयहरू, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवाहरू बाहेक) बन्द रहनेछन्। अध्यक्ष आजादले भने, “हाम्रो गाउँपालिकामा विविध धार्मिक र सांस्कृतिक समुदायहरू बसोबास गर्छन्, र यस्तो बिदाले ती समुदायबीचको सद्भावलाई थप बलियो बनाउन मद्दत पुर्याउँछ।”
यता जितिया पर्व मधेसी र थारू समुदायका महिलाहरूले विशेष रूपमा मनाउने पर्व हो। जितिया पर्वमा महिलाहरू आफ्नो सन्तानको दीर्घायु र कल्याणका लागि तीन दिनसम्म उपवास बस्छन्। सप्तमी तिथिमा स्नान गरेर सुरु हुने यो पर्वको दोस्रो दिन महिलाहरू निराहार उपवास बस्छन्, र नवमी तिथिमा व्रत तोडेर धार्मिक अनुष्ठान सम्पन्न गर्छन्।
साेही विषयलाई स्पष्ट पार्दै अध्यक्ष अजमल अख्तर आजादले विभिन्न धार्मिक पर्वहरूलाई सम्मान गर्दै भने, “जितिया पर्वले हामीलाई सामाजिक सहिष्णुता र एकताको सन्देश दिन्छ। हाम्रो गाउँपालिकाको नीति नै सबै धार्मिक समुदायहरूको समान सम्मान र संरक्षण गर्ने हो, र यस प्रकारका बिदाले हामीलाई अझ नजिक ल्याउने विश्वास रहेको बताए ।”
Discussion about this post