इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधवार दिउसो यातायात व्यवस्था कार्यालय इटहरीमा गरेको आकस्मिक अनुगमनका क्रममा एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वको प्रहरीसहित पुगेको अनुगमन टोलीले यातायात अन्तर्गत सवारीसाधन र चालक अनुमतिपत्र हेर्ने दुवै कार्यालयमा गरेको अनुगमनका क्रममा सेवाग्राहीलाई दुखः दिने बिचौलिया पक्राउ परेका हुन ।
यातायात कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा आकस्मीक रुपमा अनुगमन गरि छापा मारेको थियो ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पु¥याएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई पक्राउ गरेको जानकारी दिए ।
यसैगरि फुयाँलद्धारा जारी विज्ञप्ति अनुसार यातायात व्यवस्था कार्यालय (सवारी) र सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८ घर भई इटहरी–१३ शान्ति चौक बस्ने २४ वर्षीया सकुन राई, इटहरी–१२ खनार बस्ने २४ वर्षीया मनिका गिरी, इटहरी–९ बस्ने २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ–४ घर भई हाल इटहरी–९ बस्ने ४४ वर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी–२ बस्ने १९ वर्षीय महेश राई, इटहरी–४ का ३४ वर्षीय देवेन्द्र बस्नेत, मोरङको बुढीगंगा–२ टंकीसिनुवारी बस्ने ३२ वर्षीय शुसिल शाह रहेका छन् ।
उदयपुर नगरपालिका–३ का २३ वर्षीय संयोग राई, इटहरी–१ का ३७ वर्षीय प्रगति खतिवडा, सुनसरीको रामधुनी–१ बस्ने ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रंगेली–९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी–४ का ३९ वर्षीय मोहन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी–५ का १९ वर्षीय अजित खवत्तरी र भोजपुर घर भई इटहरी–२० बस्ने युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नक्कली डाक्टर, बिचौलिया र लेखापढी गर्ने गरेको खुलेको छ। यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
संघीय सरकार मातहत हुँदा खासै वास्ता नगर्ने स्थानीय प्रशासनले प्रदेश सरकार मातहत आएपछि आकस्मिक अनुगमन गरेको भन्दै कतिपय सरोकारवालाहरुले प्रश्न समेत उठाएका छन् ।
असम्बन्धित व्यक्तिहरुले यातायात व्यवस्था कार्यालयको सेवामा प्रभाव जमाएर नागरिकमाथि बिचौलियाको काम गरिरहेको खुलेको थियो ।
Discussion about this post