सुनसरी। सुनसरी सहित ५६ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार बिहीबारदेखि मौसम पुनः सक्रिय भएको हो। बुधवार रातिदेखि सुरु भएको वर्षा आइतवारसम्म निरन्तर रहने अनुमान गरिएको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालभर भारी वर्षा हुने प्रक्षेपण गरिएको हो। अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ, कोशी, मधेस, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिनभरि देशभर मौसम बदली रहने सम्भावना छ, जसमा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्छ। तराई क्षेत्रका केही भूभागमा हावाहुरीको पनि सम्भावना छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, बागमती, मधेस, गण्डकी, र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसका साथै, कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना कायमै रहेको छ।
यता सुनसरीमा निरन्तर वर्षा: बुधवार रातिदेखि बिहीबार साँझसम्म सुनसरीमा निरन्तर झरी वर्षा भइरहेको छ। यसले सप्तकोशी नदीसहित अन्य प्रमुख नदीहरू — सुनसरी, सेउती, बुढी, लगायतका खोलाहरूको बहावमा वृद्धि भएको छ। यदि यस्तो स्थिति जारी रहेमा, जिल्लाका अधिकांश खोलानालाहरूको बहाव खतराको स्तरसम्म पुग्न सक्ने जोखिम छ।
निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरूको आवतजावत घटेको छ भने दशैँको मुखमा बाढीको त्रासले चिन्तित बनाएको छ। लामो समयदेखि वर्षा नहुँदा किसानहरूले राहत महसुस गरेका छन्, तर धान फूल लग्ने समयमा यस्तो भारी वर्षा जारी रहेमा धानबालीमा क्षति पुग्ने आशंका बढेको छ।
Discussion about this post