दिपेन्द्र यादव/सुनसरी । सप्तकोशी नदीमा यस वर्ष ५६ वर्षपछि पुनः उच्च पानीको बहाव देखिएको छ। सप्तकोशीमा खतराको तह पार भएपछि उच्च सतर्कता अपनाउँदै कोशी ब्यारेजमा रातो झण्डा गाडिएको छ।
शनिबार बिहानैदेखि बढिरहेको पानीको बहाव साँझ ६ बजेको मापन अनुसार ५ लाख ६७ हजार ७६० क्यूसेक पुगेको छ। कोशी ब्यारेजको अधिकतम भारवहन क्षमता ९ लाख ५० हजार क्यूसेक रहेको छ। सप्तकोशीमा अहिलेसम्मको उच्चतम पानीको बहाव सन् १९६८ मा ७ लाख ८८ हजार २०० क्यूसेक मापन गरिएको थियो। यसपछि दोस्रो पटक यस वर्ष पानीको बहाव उच्च भएको हो। सन् १९८७ मा पनि पानीको बहाव ५ लाख १ हजार ७७१ क्यूसेक पुगेको थियो।
खतराको तह पार गरेसँगै सबै ५६ वटै ढोका बिहानैदेखि खुला गरिए पनि पानीको बहाव निरन्तर बढिरहेको छ। पानीको बहाव एक लाख ५० हजार क्यूसेक काट्ने बित्तिकै रातो बत्ती बाल्ने र तीन लाख क्यूसेक पार गरेपछि मध्यभागमा पनि रातो बत्ती बाल्ने परम्परा रहेको छ। यसपटक भने झण्डा समेत फहराइएको छ।
स्थानीय प्रशासनले पूर्वी तटीय र पश्चिम सप्तरी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तीन दिनदेखि निरन्तर वर्षा भइरहेको पहाडी जिल्ला र पूर्वी तराईमा भएको वर्षाले सप्तकोशीमा पानीको बहाव बढेको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि कोशी ब्यारेजको पुल भएर आवतजावत गर्न अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फूयालले आवश्यक कामका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। वैकल्पिक मार्गका रूपमा चतरामा बनेको पुललाई प्रयोग गर्न सकिने जनाइएको छ। भारतको बिहार राज्यको जलस्रोत विभागले पनि जलप्रवाह थप बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले यो पटक सप्तकोशीमा पानीको बहाव ७ लाख क्यूसेक आसपास पुग्ने अनुमान गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले अहिलेसम्म कुनै क्षति नभएको बताए।
नेपाल र भारतबीच २०११ साल वैशाख १५ गते कोशी योजना सम्बन्धी सम्झौता भएको थियो। सम्झौता पछि कोशी ब्यारेज निर्माण गरिएको हो। २०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काउँदा करिब १४ किलोमिटर क्षेत्र भत्काएको थियो। त्यसबेला पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध बनेपछि स्थानीयहरूले जोखिमपूर्ण डुंगाको यात्रा गर्नु परेको थियो।
तीन महिनाको प्रयासपछि कोशीलाई पुरानै धारमा फर्काइएको थियो, तर कोशी नदीले आफ्नो धार परिवर्तन गर्ने जोखिम सधैं रहिरहन्छ।
यसैबीच, सप्तकोशी नदीले खतराको तह पार गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहितको टोलीले अनुगमन गरेको छ। मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।
श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या
सप्तकोशी नदीमा पानीको बहाव खतराको तह पार गरेपछि श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या भएको छ। श्रीलंका टापु सप्तकोशी नदीको पूर्वी र पश्चिमी भँगालोको बीचमा अवस्थित छ। बस्ती घेरिएको हुनाले उद्धार गर्न कठिनाइ भएको हो।
मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रमुखहरूले उद्धार गर्न हेलिकप्टरको योजना बनाएका थिए, तर मौसम खराब भएकाले उद्धार सम्भव नभएको हो। बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले अहिलेसम्म सबै जना सकुशल रहेको र आइतबार हेलिकप्टरबाट उद्धार गरिने जानकारी दिए।
Discussion about this post