सुनसरी — देशकै प्रमुख कृषि उत्पादक जिल्लाको रुपमा परिचित सुनसरीमा लगातारको मुसलधारे वर्षा र बाढीले किसानहरुले लगाएका धान र तरकारी बालीमा ठूलो क्षति पुर्याएको छ। विशेष गरी दशैंको मुखमा किसानहरुका लागि आयस्रोत बन्ने घुटराज धानसहित तरकारी बालीमा बाढीले पुर्याएको क्षतिले किसानहरुलाई वर्षभरि के खाने र लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ।
धानको फूल फूल्ने समयमा परेको निरन्तर वर्षाले धानको उत्पादनमा कमी आउने स्थिति रहेकोमा, बाढीले बाली नै बगाउँदा र डुबाउँदा झनै ठूलो नोक्सानी पुगेको छ। भोक्राहा नरसिंह गाउँपालिकाका किसान रामवृक्ष मेहताका अनुसार, बाढीका कारण घुटराज जातको धान पूर्णरूपमा नष्ट भएको छ। यो धान पाकेर भित्र्याउने समय भएकोले किसानहरुले दशैंको खर्च जुटाउने आशा गरेका थिए, तर बाढीले सबै बर्बाद गरिदिएको छ। “खेतमा पानी नसुकेपछि धान त्यहीँ उम्रिन थालेको छ,” उनले भने।
भोक्राहा नरसिंह गाउँपालिकाका करिब ४० बिघा जमिनमा घुटराज धान लगाएको थियो। देवनारायण, जमाहर मेहता, श्यामदेव मेहता र जोगिन्दर मेहताजस्ता स्थानीय किसानहरु बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्। धानको माकिलो उत्पादन हुने अपेक्षा राखिएको सुनसरीमा यसवर्षको धान उत्पादनमा बाढीले ठूलो क्षति पुर्याउने कृषि कार्यालयले बताएको छ।
बाढीले तरकारी बालीमा पनि व्यापक क्षति पुर्याएको छ। सुनसरी जिल्लामा असोज–कार्तिकमा बजारमा ल्याउने तयारीमा रहेका तरकारी बालीहरु बाढीले डुबाएर नष्ट गरिदिएको छ।रामजानकी गुठीद्वारा सञ्चालित इनरुवा थोक कृषि बजारका अनुसार, यो समयमा तरकारीको मूल्य चार सय प्रतिसतले बढेको छ। कोपी, बैगुन, भिण्डी, करेला, फर्सी, घिरौँलाजस्ता तरकारीको मुल्यमा अकासिएको वृद्धि भएको छ।
यसैबीच, लगातारको वर्षासँगै आएको बाढीबाट विस्थापित भएका मानिसहरु बिस्तारै घर फर्किन थालेका छन्। सुनसरीको विभिन्न स्थानहरुमा बसोबास गरिरहेका बाढीपीडितहरुको अस्थायी व्यवस्थापन गरी उनीहरुलाई घर फर्काउने काम भइरहेको सशस्त्र प्रहरी बल ४ नं गणका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए। कोशी–४ क्षेत्रमा डुबानमा परेका ४० परिवार घर फर्किसकेका छन् भने हरिनगर गाउँपालिकामा केही परिवार अझै सार्वजनिक स्थानमा आश्रय लिइरहेका छन्।
गाउँपालिकाका अध्यक्ष गफार अन्सारीका अनुसार, बाढीबाट आंशिक डुबानमा परेका कतिपय स्थानका पीडितहरु घर फर्किसकेका छन्, तर वडा नं ५ र ७ का केही परिवार अझै अस्थायी बासस्थानमा बसेका छन्। बाढीले गाउँपालिकामा करिब एक सय बिघा धानखेती र एक सय बिघा तरकारी बालीमा क्षति पुर्याउनुका साथै दुई किलोमिटर सडक कालोपत्र पनि भत्काएको छ।
जिल्लामा बाढीले पुर्याएको क्षतिको विवरण संकलनको काम जारी रहेको सुनसरी जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
Discussion about this post