इनरुवा ।सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा बाढी पीडितहरूको राहत वितरणमा अवरोध पुर्याउन केही अराजक तत्वहरू सक्रिय भएको सार्वजनिक भएको छ। जनप्रतिनिधिहरूका अनुसार, यी तत्वहरूले वास्तविक पीडितहरूलाई पन्छाएर गैर पीडितलाई धर्नामा सामेल गराउँदै गाउँपालिकाको गेटमा अवरोध खडा गरेर जनता भड्काउने प्रयास गरिरहेका छन्।
स्थानीय स्रोतका अनुसार, अराजक समूहले गैर पीडितहरूलाई राहतको नाममा गाउँपालिकाको कार्यालयमा धर्ना दिन उक्साएको छ, जुन एक नियोजित षड्यन्त्र भएको अनुमान गरिएको छ। स्थानीय स्रोतहरूले जनाएअनुसार, धर्नामा सहभागी धेरैजसो व्यक्ति वास्तविक पीडित नभई विकास विरोधी गुटसँग आवद्ध छन्, जसको मुख्य उद्देश्य गाउँपालिकाको विकास परियोजनाहरूलाई अवरुद्ध गर्नु हो।
गाउँपालिकाका जनप्रतिनिधिहरूको प्रतिक्रिया
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले यस्तो गैर जिम्मेवारीपूर्ण धर्नाले विकास प्रक्रिया र राहत वितरणमा गम्भीर अवरोध पुर्याउने चेतावनी दिएका छन्। उनले भने, “हामी बाढी पीडितहरूको राहत व्यवस्थापनमा गम्भीर छौं, तर केही स्वार्थी तत्वहरूले अराजकता मच्चाउँदै गाउँपालिकालाई अस्थिर बनाउने प्रयास गरिरहेका छन्।”
त्यस्तै वडा नम्बर २ का अध्यक्ष आलम अंसारीले यस्ता गतिविधिहरूले जनताको विश्वास कमजोर बनाउने र वास्तविक पीडितहरूलाई राहत पाउन कठिन बनाउने बताएका छन्। उनले भने, “गैर पीडितहरूलाई धर्नामा समावेश गरेर जनतालाई भड्काउनु अत्यन्त निन्दनीय छ।”
वडा नम्बर ३ का अध्यक्ष धिरेन्द्र यादवले भने, “धर्नाको नाममा भइरहेको अराजक कार्यले विकास परियोजनाहरूमा ढिलाइ गराउँदै गाउँपालिकामा अस्थिरता ल्याउनेछ। यो गतिविधि विकास विरोधी समूहको नियोजित योजना हो।”
वडा नम्बर ४ का अध्यक्ष हारूण अंसारीले भने, “बाढी पीडितहरूको नाममा भइरहेको यस्तो अवरोधले गाउँपालिकालाई कमजोर बनाउने र राहत वितरण प्रक्रियामा खलल पुर्याउने प्रयास गरिरहेको छ।”
वडा नम्बर ५ का अध्यक्ष हबिव मंसुरीले भने, “गाउँपालिकालाई स्थिरता र विकासतर्फ उन्मुख गर्ने हाम्रो प्रयासलाई केही स्वार्थी समूहहरूले कमजोर बनाउन खोजिरहेका छन्। यस्ता गतिविधिहरूले गाउँको समग्र विकासलाई नकारात्मक रूपमा असर पुर्याउँछ।”यता धर्नामा सहभागी अराजक समूहले गाउँपालिकाको कार्यालयमा ढुंगा प्रहार गर्दा चारवटा झ्यालका सिसाहरू फुटेका छन्, जसले गाउँपालिकामा सुरक्षा चुनौती खडा गरेको छ। घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। जनप्रतिनिधिहरूले यस्ता अराजक गतिविधिहरूलाई शीघ्र नियन्त्रणमा लिन प्रशासनसँग माग गरेका छन्।
त्यस्तै सामाजिक सञ्जालमा पनि धर्नासम्बन्धी केही भिडियोहरू पोस्ट भएका छन्, जसमा अराजक गतिविधिहरू स्पष्ट देख्न सकिन्छ। यता जिल्ला प्रशासन कार्यालय सुनसरीले घटनाको गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
Discussion about this post