चिराैली— सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ मा हिजो कार्तिक ४ गते कार्यालय समयमा केही व्यक्तिहरूले आक्रमण गरेका छन्। स्थानीय मनिलाल महतो कोइरीका छोरा वैजनाथ मेहता, बद्री शर्माका छोरा बिल्लू शर्मा र एक महिलासहितको समूहले वडा कार्यालयमा प्रवेश गरी ताला बन्दी गर्दै कार्यालयका कर्मचारीहरूमाथि हातपात गरेको छ।
आक्रमणको क्रममा वडा नम्बर ३ का कर्मचारी श्रवण यादव, शिवन यादव लगायत अन्य कर्मचारीहरूलाई हातपात गरिएको छ। प्रहरीले घटनाको प्रत्यक्ष साक्षी बन्दा समेत कर्मचारीहरूले आफ्नो जिउधन असुरक्षित भएको गुनासो गरेका छन्।वडा सचिवहरूको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा आक्रमणकारीलाई २४ घण्टाभित्र कानूनी दायरामा ल्याउन माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “आक्रमणको घोर भर्त्सना गर्दै, दोषीलाई कारबाही नगरेमा दोस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरिनेछ।”
यस घटनाबारे वडा नं. ३ का अध्यक्ष धिरेन्द्र यादवले भने, “आक्रमण गर्ने व्यक्तिहरूमाथि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ।” अध्यक्ष यादवका अनुसार, दोषीलाई कानूनी कारबाही गर्नको लागि स्थानीय प्रशासनले आवश्यक कदम चालिसकेको छ।
विज्ञप्तिमा वडा नं. १ देखि ८ सम्मका वडासचिवहरूले हस्ताक्षर गरेका छन्। यस घटनाले स्थानीय तहमा कर्मचारीहरूको सुरक्षासम्बन्धी चिन्ता थप बलियो बनाएको छ र उनीहरूले न्यायको लागि पहल गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी भए पनि यसले स्थानीय सरकारको कार्यालयमा सुरक्षाका सवालहरू गम्भीर रूपमा उठाएको छ।
Discussion about this post