इनरुवा । सुनसरीकाे बर्जु गाउँपालिका–४ को नराहामा उखु बारीमा लुकाइएको २९५ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको बीओपी साहेबगञ्ज र हर्मोनी, नेपाल प्रहरीसँगको संयुक्त टोलीले उक्त गाँजा फेला पारेको हो। जानकारीअनुसार नम्बर ४ गण हेडक्वार्टर, सुनसरीको निर्देशनमा गरिएको सर्च अपरेसनमा २९५.९७ किलो तयारी गाँजा बरामद भएको हो।
घटनास्थलमा गाँजा भण्डारण गर्न बसेका इटहरीका २० वर्षीय शंकर कुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, यस घटनाले स्थानीय समुदाय र सुरक्षा निकायमा गम्भीर प्रश्न खडा गरेको छ।
प्रहरीकै मिलीभगतमा तस्करीको आरोप
सशस्त्र प्रहरी स्रोतका अनुसार केही महिनायता सशस्त्र प्रहरीकै मिलीभगतमा गाँजा तस्करी हुँदै आएको खुलासा भएको थियो। तर, जनतामा भ्रम सिर्जना गर्नका लागि अहिले भने सुरक्षा निकायहरूले नाटकीय ढंगले उक्त कारबाही गरेको भनी स्थानीय स्रोतले बताए।
अर्कोतर्फ, स्थानिय बासिन्दा र केही जानकारहरूले प्रहरी र तस्करहरूबीच देखिएको सहकार्यबारे गम्भीर छानबिनको माग गरेका छन्। यदि प्रहरीकै सहभागितामा अवैध गाँजा कारोबार भइरहेको हो भने यसको परिणाम समाज र कानूनी प्रक्रियामा नकारात्मक असर पर्नेमा उनीहरूले जोड दिएका छन्।
प्रश्न उठाउने बेला – कसले गर्छ छानबिन ?
सुरक्षा स्रोतले यदि तस्करी रोक्न वास्तविक प्रयास भइरहेको भए भने यसअघि नै नियन्त्रणमा ल्याउन सकिने उल्लेख गरे। स्थानीयहरूमा पनि घटनाको छानबिनप्रति शंका उत्पन्न भएको छ।अन्ततः, यो घटना सम्बन्धित सुरक्षा निकायका उच्च अधिकारीहरूले छानबिन गर्ने कि केवल देखाउनका लागि मञ्चन गरिएको नाटक हो भन्ने प्रश्न उत्तेजक रूपमा उठिरहेको छ।
Discussion about this post